प्रधानमन्त्री ओलीको UN महासभामा सम्बोधन: नेपालको शान्ति र विकासको प्रतिबद्धता

संवाददाता
२०८१ आश्विन ११, शुक्रबार ११:००

प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औं महासभामा सम्बोधन गर्दै नेपाल शान्ति प्रक्रियामा चाँडो प्रगति गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ। उहाँले २०६३ सालको बृहत् शान्ति सम्झौतामा हस्ताक्षरपछि नेपालले शान्ति स्थायीत्वमा महत्वपूर्ण कदम चालेको उल्लेख गर्नुभयो।

ओलीले संसद्ले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गरेको र ‘सर्वसमावेशी लोकतन्त्र’मा विश्वास रहेको कुरा बताउँदै नेपालका लागि समानता, न्याय, र सामाजिक सुरक्षाको सुनिश्चितता आवश्यक रहेको बताउनुभयो। उहाँले भन्नुभयो , “हाम्रो राष्ट्रिय आकाङ्क्षा ‘समृद्ध नेपाल, सुखी नेपाली’ लाई साकार पार्न समर्पित छौं।”

सन् २०२६ मा नेपाल अल्पविकसित राष्ट्रबाट विकासशील देशमा स्तरोन्नति हुने तयारीमा रहेको उल्लेख गर्दै ओलीले दिगो विकासका लागि २४ अर्ब अमेरिकी डलरको आवश्यकता भएको बताए। जलवायु परिवर्तनका कारण नेपाल विशेषगरी प्रभावित भएको बताउँदै उहाँले जलवायु परिवर्तनको दुष्प्रभावमा नेपाल विश्वका २० सबैभन्दा प्रभावित देशहरूमध्ये रहेको जानकारी दिनुभयो ।

प्रधानमन्त्रीले जलवायु परिवर्तनको मुद्दामा विश्वव्यापी सहकार्यको आवश्यकता औंल्याउँदै, पेरिस सम्झौताप्रति नेपालको प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो , “हाम्रा हिमालयले जलवायु र महासागरको पारिस्थितिकीमा महत्वपूर्ण भूमिका खेल्छ।”

प्रधानमन्त्री ओलीले विश्वभर निराशा र विभाजन बढिरहेको सन्देशलाई उठाउँदै संवाद र कूटनीतिक प्रयासमार्फत द्वन्द्व समाधानमा नेपालको भूमिका सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो । उहाले इजरायल-प्यालेस्टाइन द्वन्द्व, लिबिया, सिरिया, र अन्य क्षेत्रका संकट समाधानका लागि सामूहिक प्रयासको आवश्यकताको महत्त्व बताउँदै विश्वका सबै मुलुकलाई शान्तिको साझा आकाङ्क्षा र न्यायपूर्ण समावेशी व्यवस्थाप्रति जोड दिनुभयो।

ओलीले राष्ट्रसङ्घको प्रभावकारीता र सुधारको आवश्यकताबारे पनि विचार व्यक्त गर्दै नेपालले सधैं शान्तिपूर्ण र असंलग्न परराष्ट्र नीति अवलम्बन गर्दै आएको बताउनुभयो । उहाले सबै प्रकारका निःशस्त्रीकरणको पक्षमा रहेको कुरा पनि स्पष्ट पार्नुभयो।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*