दशैंमा उपत्यका बाहिर जान अग्रिम बस टिकट बुकिङ असोज १२ देखि सुरु
काठमाडौं- दशैंतिहारको अवसरमा अग्रिम बस टिकटको बुकिङ असोज १२ गतेदेखि खुल्ने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच शनिबार भएको बैठकमा यो निर्णय गरिएको हो।
बैठकको अध्यक्षता गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यात्रुको सुरक्षालाई प्राथमिकता दिन आवश्यक मर्मत र सुधार कार्यहरूमा ध्यान दिन निर्देशन दिएका छन्। यसै क्रममा, सडक विभागका सबै सडकहरूको मर्मत कार्य घटस्थापना अगावै गर्न पनि सुझाव दिइएको छ।
बिपी राजमार्गमा सुरक्षा सुनिश्चित गर्न साना सवारी मात्र सञ्चालन गर्न र रात्रि सवारी रोक्न गृह मन्त्रालय र नेपाल प्रहरीलाई अनुरोध गरिनेछ। यसका लागि विभागले अनुगमन गरी नियमित रिपोर्ट गर्ने निर्णय पनि गरिएको छ।
महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार, आगामी दिनमा यातायात व्यवस्था विभागसँग छलफल गरेर अग्रिम टिकटको प्रक्रिया थालिनेछ। यात्राको सहजता र सुरक्षाका लागि सवारी साधनको यान्त्रिक परीक्षण पनि गरिन। यसले यात्रुलाई सस्तो र सुरक्षित यात्रा सुनिश्चित गर्ने विश्वास गरिएको छ।