प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका प्रस्थान

संवाददाता
२०८१ आश्विन ४, शुक्रबार १५:३७

काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका प्रस्थान गर्नुभएको छ । उहाँको बिदाइका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल लगायतका मन्त्रीहरू उपस्थित हुनुहुन्थ्यो।

प्रधानमन्त्री ओलीको असोज १० गते महासभामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यस वर्षको महासभाको साधारण बहसको विषय कोही पनि पछाडि नछोडिनेः वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने रहेको छ । यो विषयले विश्वका विभिन्न राष्ट्रहरूको सहकार्य र समृद्धिको लागि नयाँ दृष्टिकोण प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्री ओलीको असोज ८ गते महासभाको उद्घाटन सत्रमा र असोज ९ गते अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्नुभएको स्वागत समारोहमा सहभागी हुनुहुने कार्यक्रम पनि रहेको छ । यस भ्रमणको क्रममा उहाँले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटघाट गर्ने र द्विपक्षीय वार्ताहरूमा पनि सहभागिता जनाउने तालिका रहेकोे छ ।

प्रधानमन्त्री ओलीको यस ऐतिहासिक भ्रमणमा उहाँकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारीहरू पनि सामेल छन्।

प्रधानमन्त्री ओली १४ गते स्वदेश फर्कने तालिका रहेको छ , यस अवसरमा उहाँले नेपालका लागि महत्वपूर्ण अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो आवाज उठाउनुहुनेछ । यस भ्रमणले नेपालको अन्तर्राष्ट्रिय पहिचान र विकासका लागि नयाँ अवसरहरू सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*