बागमती प्रदेशमा उद्योग विकासका लागि सरकार तयार छ : मुख्यमन्त्री लामा
हेटौंडा । बागमती प्रदेश उद्योग परिसंघको तेस्रो साधारणसभा आज हेटौंडामा सम्पन्न भएको छ । कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले प्रदेशमा उद्योग विकासका लागि सरकार तयार रहेको बताउनु भएको छ । हेटौंडामा भएको बागमती प्रदेश उद्योग परिसंघको तेस्रो साधारणसभामा बोल्दै उहाँले निजी क्षेत्रको सहयोग बिना दीर्घकालीन रोजगारीको अवसर सिर्जना गर्न असम्भव रहेको समेत उल्लेख गर्नुभयो।
मुख्यमन्त्री लामाले भन्नुभयोे, ”हाम्रो उद्देश्य उद्योग सञ्चालनका लागि अनुकूल वातावरण तयार गर्नु हो । उद्योगको अधिकार प्रदेश सरकारसँग नहुन सक्छ, तर उद्योग सञ्चालन गर्नका लागि आवश्यक सहयोग र वातावरण तयार गर्न हामी प्रतिबद्ध छौं ”। उहाँले उद्योगधन्दा सञ्चालन नगरी रोजगारीको सृजना गर्न नसकिने कुरा पनि जोड दिनुभएको छ ।
मुख्यमन्त्री लामाले सरकारका नीतिहरूलाई प्रभावकारी बनाउनका लागि ठूला अन्तर्राष्ट्रिय कम्पनीहरूलाई प्रदेशमा ल्याउने वातावरण तयार गर्न आवश्यक रहेको बताउनु भयो । यसका साथै, लगानीमा रोकावट र बाधा पुर्याउने ऐन र कानुनहरूमा संशोधन गर्नुपर्ने आवश्यकता रहेको उहाँको धारणा थियो ।
कार्यक्रममा बागमती प्रदेशका उद्योग, वाणिज्य, प्रशासन तथा भूमि मन्त्री सुकमायाँ तामाङले स्वदेशी उद्योगका उत्पादनहरु सरकार र नागरिकले उचित प्रयोग नगरेकोमा गुनासो गर्नुभयो । उहाँले भन्नुभयो,स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न आवश्यक छ, जसले गर्दा महिला र अन्य व्यक्तिहरूलाई स्वरोजगारको अवसर पनि मिल्छ ।
साधारणसभामा नेपाल उद्योग परिसंघका उपाध्यक्ष बिरेन्द्र राज पाण्डे, बागमती प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष गंगादत्त नेपाल, र जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान लगायतकाको आतिथ्यता रहेको थियो थियो ।