भरतपुरमा बडादशैँ स्वदेशी जुत्ताचप्पल व्यापार मेला सुरू , उधोग मन्त्री तामाङले गरिन् उद्घाटन
हेटौंडा : भरतपुरस्थित औद्योगिक प्रदर्शनीमा बडादशैँ स्वदेशी जुत्ता चप्पल व्यापार मेला मंगलवारदेखि सुरु भएको छ । असोज २४ गतेसम्म सञ्चालन हुने मेलाको बागमती प्रदेशको उद्योग वाणिज्य, भूमि व्यवस्था तथा प्रशासनमन्त्री सुकमाया तामाङले उद्घाटन गर्नु भएको हो ।
मेलाको उद्घाटन गर्दै मन्त्री तामाङले नेपाल धेरै वस्तुको उत्पादनमा आत्मनिर्भर बन्न सक्ने सम्भावना रहेको बताउनु भयो ।
स्थानीय स्रोत साधन उपयोगमा लाग्नु पर्ने बताउनु हुँदै मन्त्री तामाङले मुलुकको आर्थिक समृद्धिका लागि स्वदेशी उत्पादनमा जोड दिन आग्रह गर्नु भयो ।
फुटवेयर म्यानुफ्याक्चर्स एशोसियसनका अध्यक्ष रुद्र न्यौपानेले जुत्ता चप्पलको चोरी पैठारी रोकिने हो भने नेपाल १८ महिनामा आत्मनिर्भर बन्न सक्ने बताउनु भयो । त्यस्तै उहाले सिंहदरबारभित्र पनि नेपाली जुत्ता चप्पलको प्रयोग गर्नुपर्ने भन्दै उत्पादकले पनि इमानदारपूर्वक गुणस्तरमा ध्यान दिनुपर्ने बताउनु भयो ।
चितवन उद्योग संघले स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्ने उदेश्यले पर्व मेला २०८१ अन्तर्गत स्वदेशी जुत्ताचप्पल व्यापार मेला आयोजना गरेको हो । मेला दैनिक बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन हुने मेलाको सहआयोजक संस्था वेश ग्लोबल प्रालिका अध्यक्ष होमनाथ उपाध्यायले बताउनु भयो । मेलामा आठ कम्पनीका तीन हजार भन्दा बढी मोडलका जुत्ता, चप्पल एकै ठाँउमा पाउन सकिन्छ । मेलामा ४० वटा स्टल छन् । नेपालमा उत्पादित जुत्ताचप्पल तथा छालाजन्य वस्तुहरु महिला, पुरुष, बच्चा सबैलाई समेटिनेगरी आकर्षक छुटमा खरिद गर्न सकिने उपाध्यायले जानकारी दिनु भयो ।
मेलामा ३५ हजार जोर जुत्ताचप्पलको बिक्री हुने र दुई करोड रुपैयाँको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । त्यस्तै मेलाको करिब एक लाख ५० हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको उनले बताए । प्रत्येक दिन जुत्ताचप्पल खरिद गर्ने ग्राहकहरुलाई कुपनको व्यवस्था गरिनेछ । जुत्ताचप्पल खरिदमा १५ देखि ५० प्रतिशत छुटको समेत व्यवस्था गरिएको छ । साथै असोज २१ गते लक्की ड्र मार्फत खोलिने कुपन मध्येबाट एक जनालाई २५ हजार रुपैयाँ बराबरको खसी उपहार प्रदान गरिनेछ ।
चितवन उद्योग संघका अध्यक्ष सूर्यप्रसाद न्यौपानेले संघले बिगत २०४७ सालदेखि उद्यमशिलता विकास र राज्यलाई मजबुत बनाउने उद्धेश्यले विभिन्न कामहरु गर्दै आएको बताउनु भयो । राज्यले लिएको औद्योगिक अभियानलाई संघले सँधै साथ दिइरहेको उहाले बताउनुभयो । नेपाली जुत्ताचप्पल व्यापार मेलालाई सफल बनाउन सबैको सहयोग आवश्यक पर्ने उहाको भनाई थियो ।
मेलाको उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारी लगायतको सहभागीता थियो ।