वातावरण संरक्षणमा एकजुट भएर लागौँ : मुख्यमन्त्री लामा
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले मानव र वातावरणबीचको घनिष्ठ सम्बन्धलाई ध्यानमा राख्दै वातावरण संरक्षणमा सबैलाई एकजुट भएर लाग्नुपर्ने कुरा बताउनु भएको छ । मङ्गलवार हेटौंडा उपमहानगरपालिका ९ स्थित दिव्य बाल उद्यान बेतखोल्सीमा प्रदेशको वन तथा वातावरण मन्त्रालयको आयोजनामा भएको वृक्षारोपण कार्यक्रममा मुख्यमन्त्री लामाले यस अघि वन जङ्गलको विनाशको क्रम बढिरहेको र यसले मानव जीवनमा प्रत्यक्ष असर पारेको उल्लेख गर्नुभयोे ।
उहाँले अव्यवस्थित बसोबास र जंगलको अतिक्रमणजस्ता समस्याहरूले वातावरणलाई प्रत्यक्ष असर पुर्याइरहेको र यसको असर मानव जाति र अन्य प्राणिमा परेको बताउनुभयो ।
कार्यक्रममा प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री सुरज लामिछानेले वातावरण संरक्षणका लागि बनजंगलको संरक्षण गर्दै अन्य खाली क्षेत्रहरूमा वृक्षारोपणको आवश्यकता औंल्याउनु भएको छ । उहाँले बनजंगलको महत्वलाई जोड्दै, यहाँ रहेका वृक्ष बिरुवा नष्ट हुने क्रम जारी रहेमा मानव अस्तित्व संकटमा पर्ने चेतावनी पनि दिनुभयो।
यसैगरी, प्रदेशका वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवालले संविधानको सन्दर्भमा बोल्दै हालको संविधानले जनतालाई वडा(वडामा सिंहदरबारको अनुभव दिलाएको बताउनुभयो । उहाँले संविधानको पारदर्शिता र समावेशीताका कारण वडा–वडाबाटै धेरै काम सजिलै गर्न सकिने कुरा पनि उल्लेख गर्नुभयो ।
वृक्षारोपण कार्यक्रमको अवसरमा मन्त्री सिलवालले संविधान दिवस र राष्ट्रिय दिवसलाई भव्यतासाथ मनाउने सन्दर्भमा मुख्यमन्त्री लामाको अध्यक्षतामा भएको बैठकले संविधान दिवस लाई ३ दिन मनाईने निर्णय गरेको जानकारी समेत दिनु भएको छ । संविधान दिवस २०८१ लाई ३ दिन मनाईन निर्णय अनुसार कार्यक्रमको पहिलो दिन वृक्षारोपण र खेलकुदका गतिविधिहरू सम्पन्न भएको छ, जसमा प्रदेशका मन्त्रीहरू, सचिवहरू, कर्मचारीहरू र स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।