सहकारी प्रकरणसँग सम्बन्धित विवादलाई अब गोरखा मिडियातिर तान्ने प्रयास हुन्छ : लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो निर्दोषता पुष्टि गर्दै सहकारी प्रकरणसँग सम्बन्धित विवादलाई आगामी दिनहरूमा गोरखा मिडियामा जोडेर आफुलाई फसाउने प्रयास हुने बताएका छन्। मंगलबार काठमाडौंमा पार्टीको राष्ट्रिय भेलाको उद्घाटन समारोहमा बोल्दै, लामिछानेले आफ्नो सहकारी सम्बन्धी मुद्दामा निर्दोष रहेको दाबी गरेका हुन् ।
लामिछानेले भने, “संसदीय छानविन विशेष समितिले मलाई सहकारी ठगको आरोपमा निदोषी ठहर गरेको छैन । यससम्बन्धी प्रमाणित दावीहरू भइसकेका छन् र यसकै आधारमा म निर्दोष छु । अब, जब सहकारी ठगको आरोप हटाइएको छ, त्यसपछि गोरखा मिडियातिर ध्यान केन्द्रित गर्ने प्रयास हुनेछ।”
समितिले लामिछानेसहितका तत्कालीन सञ्चालकहरूको जिम्मेवारीमा कारबाहीको सिफारिस गरेको भए पनि, लामिछानेले आफूलाई सहकारी ठग भन्न अब मिल्ने अवस्था नरहेको बताएका छन्। उनले नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापासँगको संवादमा, प्रमाण र प्रमाणित विषयलाई उल्लेख गर्दै थप अभिब्यक्ति दिए ।
“प्रमाण भनेको के हो भन्ने कुरा हाम्रो केन्द्रिय नेताहरूले राम्रोसँग बुझ्नुभएको छ । प्रमाणको परिभाषा के हुन्छ भन्ने कुरा बुझ्नको लागि हामीले केही पनि भन्नु परेन होला । मैले कसैको कटाक्ष गरेको होइन, तर सन्देश दिन जरूरी छ,” लामिछानेले थपे।