दाना उद्योगमा मन्त्री तामाङको निरीक्षण : बजेट बिनियोजनमा सहयोगको वचन
हेटौंडा । बागमती प्रदेशकी उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री शुकमाया तामाङले चितवनको भरतपुर महानगरपालिका-0६ स्थित दाना उद्योगको निरीक्षण गर्नुभएको छ। निरीक्षणको क्रममा, मन्त्री तामाङले उद्योगको उपलब्धि र भविष्यका चुनौतीहरूबारे गहिरो अध्यन गर्नुभयो।
मन्त्री तामाङले उद्योगको अवस्थाको जाँच गर्दै, उद्योगलाई थप विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले उद्योगका समस्याहरूको समाधान गर्न र यसको प्रभावकारी सञ्चालन सुनिश्चित गर्न आवश्यक बजेट बिनियोजन गर्ने वचन दिनुभयो।
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले दाना उद्योगको निरन्तर प्रगति र सञ्चालनका लागि दाना परीक्षण गर्न प्रयोगशाला र दाना राख्नका लागि गोदामको आवश्यकता रहेको बताएका छन्। उहाँले उद्योगको सफलता र दीगो विकासका लागि यस प्रकारका पूर्वाधारहरू अत्यन्त महत्त्वपूर्ण रहेको औँल्याउनुभयो।
संघका अनुसार, २०७८ सालदेखि करिब ५३ लाख रुपैयाँको लगानीमा संचालन भइरहेको यस दाना उद्योगले दैनिक ८ टन दाना उत्पादन गर्दै आएको छ। यस उद्योगको बार्षिक कारोबार ७ करोड रुपैयाँको रहेको छ।
११४ वटा सहकारी संस्थाले आबद्ध भएको यस संघले चितवन जिल्लाका एक सय सहकारीलाई दाना आपूर्ति गर्दै आएको भन्दै उद्योगको निरन्तर वृद्धि र चुनौतीहरूमा मन्त्री तामाङको सहयोग र समर्थनको अपेक्षा गरेको संघका व्यवस्थापक जनार्दन पौडेलले बताउनु भयो।