हेटौंडामा आशा विशेष पाठशाला तथा पुनःस्थापना केन्द्रको दोश्रो तल्ला भवनको उद्घाटन

संवाददाता
२०८१ भाद्र २७, बिहीबार १८:१८

हेटौंडा। बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले बिहिबार हेटौंडा-०७ हरियाली टोलमा सि आशा फाउन्डेसनद्वारा संचालित आशा विशेष पाठशाला तथा पुनःस्थापना केन्द्रको दोश्रो तल्ला भवनको उद्घाटन गर्नु भएको छ।

यस अवसरमा मन्त्री काफ्लेले बौद्धिक अपाङ्गता बारे आफूलाई नयाँ जानकारी प्राप्त भएको बताउनु भयो । उहाँले अपाङ्गता बारेमा पहिले नै बुझ्नुभएको भएपनि बौद्धिक अपाङ्गता बारे विशेष रूपमा पहिलो पटक बुझ्न पाएको कुरा उल्लेख गर्नुभयो।

मन्त्री काफ्लेले कार्यक्रममा भाग लिँदा आफूलाई पनि विद्यार्थीको रूपमा महसुस भएको बताउँदै, शिक्षा र समावेशी विकासमा यस्तो प्रकारका संस्थाहरुको महत्वपुर्ण भुमिका रहेको उल्लेख गर्नु भयो। उहाँले फाउन्डेसनकी संस्थापक आइना वार्काले नेपालमा अपाङ्गता भएका व्यक्तिहरलाई गरेको सहयोगको मुक्तकण्ठले प्रसंसा समेत गर्नु भयो ।

विद्यालय व्यवस्थापन समितीका अध्यक्ष बालकृष्ण चौलागाईंले जानकारी दिनुभएको अनुसार, ७० लाख रुपैयाँको लागतमा दोश्रो तल्ला भवन निर्माण गरिएको छ। यसका लागि हेटौंडा उपमहानगरपालिकाबाट ५ लाख रुपैयाँ र अन्य स्रोतबाट संकलित रकम प्रयोग गरिएको हो। नयाँ भवनमा १३ कोठा समावेश छन्, र हाल विद्यालयमा ७७ जना बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरू अध्ययनरत छन्।

फाउन्डेसन र विद्यालयकी संस्थापक आइना वार्का र अध्यक्ष कैलाश न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा ६ नम्बर वडा अध्यक्ष विष्णु दाहाल, ७ नम्बर वडा अध्यक्ष दामोदर गौतम लगायतका विभिन्न संघ संस्थाका बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*