क्युपेक नेपालले दियो मकवानपुरगढीका मजदुरहरुलाई नेतृत्व विकास तालिम
मकवानपुरगढी । नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन मकवानपुरगढी गाउँपालिका कमिटीले एक दिने नेतृत्व विकास तालिम कार्यक्रम सम्पन्न गरेको छ।
बिहीबार मकवानपुरगढी गाउँपालिकाको वडा नम्बर ०५ कालीवनमा एक दिने नेतृत्व विकास तालिम कार्यक्रम सम्पन्न गरेको हो। २०५४ सालदेखि मजदुरको हक हितका लागि काम गर्दै आएको नेकपा एमाले निकट संस्था क्युपेक नेपालले मकवानपुरगढी गाउँपालिकाका मजदुरलाई नेतृत्व विकास गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको जानकारी दिएको छ ।
मजदुरहरूले काम गरेबापतको उचित ज्याला रकम नपाउने, पाएपनि समयमा नपाउने साथै मजदुरहरू शोषण,दमनमा पर्ने हुनाले उनीहरूको हकहित र आफ्नो ज्याला मजदुरी गरेबापतको पारिश्रमिक सुरक्षित गर्नकालागि क्युपेक नेपालमा आबद्ध हुनुपर्ने सस्थाका मकवानपुर जिल्ला सचिव बुद्ध विश्वकर्माले बताए।
यस्तै मजदुर वर्गमा नेतृत्व क्षमता कम हुने भएकोले उनीहरु शोषण पीडणमा पर्ने भन्दै श्रमिक वर्गलाई शोषण पिडणमा नपरुन भन्ने हेतुले नेतृत्व विकास तालिम प्रदान गरिएको क्युपेक नेपाल मकवानपुरका अध्यक्ष प्रल्हाद राईले बताए।
क्युपेक नेपाल बिजुली, पेन्टर,प्लम्बर तथा निर्माण मजदुर गरी ४ संगठन मिलेर २०५४ साल जेठ १४ गते स्थापना भएको संस्था हो। संस्थाले मजदुर वर्गको हक हितका लागि आवाज उठाउनुका साथै मजदुरको उपचार खर्च समेत बेहोर्दै आएको छ । संस्थाले संगठनमा आबद्ध मजदुरहरूका रोगको प्रकृति हेरी स्वास्थ्य उपचारमा ५ देखि ७ लाख रुपैयाँ सम्म खर्च बेहोर्ने गरेको मकवानपुर क्युपेक नेपालका सचिव बुद्ध विकले जानकारी दिए।
क्युपेक नेपालको गढीगाउँपालिका कमिटी अध्यक्ष बिल बहादुर स्याङतानको अध्यक्षतामा भएको कार्यक्रममा क्युपेक नेपालका मकवानपुर अध्यक्ष प्रल्हाद राईको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेकपा एमाले मकवानपुरगढी गाउँ कमिटी अध्यक्ष जितबहादुर घिमिरे नेकपा एमाले मकवानपुरगढी गाउँपालिका वडा नं ०५ कमिटी अध्यक्ष सन्तोष घिमिरे मकवानपुरगढी गाउँ पालिका वडा नं ०५ क्युपेक कमिटी अध्यक्ष राम कुमार खड्का लगायतकाको आतिथ्यता रहेको थियो।