बागमती प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा नेपाल नियुक्त
हेटौंडा । बागमती प्रदेश सरकारकाले गंगादत्त नेपाललाई प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको छ ।
रिक्त रहेको उपाध्यक्ष पदमा सिन्धुपाल्चोकका नेपाललाई नियुक्त गर्ने निर्णय बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको सरकारका प्रवक्ता एवंम आन्तरिक मामिला तथा योजना मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिनुभयो ।यस्तै समाजिक विकास मन्त्रालयको प्रस्ताव र खेलकुद मन्त्रालयको स्वीकृतीमा प्रदेश खेलकुद विकास परिषद्को सदस्य–सचिवमा नुवाकोटका दीपक लामालाई नियुक्त गर्ने निर्णय भएको प्रवक्ता लामिछानेले जानकारी दिनुभयो ।
बैठकपछि संचारकर्मीहरुलाई जानकारी दिँदै प्रवक्ता लामिछानले आयोगको सदस्यमा काभ्रेका गुणराज मोक्तान र काठमाडौंका दीपेन्द्र श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको जानकारी दिनुभयो । श्रेष्ठ यसअघि पनि आयोगका सदस्य हुनुहुन्थ्यो । बैठकले श्रम रोजगार तथा यातायात र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको कर्मचारी दरबन्दी स्वीकृत गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयको स्वीकृति नहुँदा अघिल्लो बैठकमा यो एजेन्डा रोकिएको थियो । यस्तै बुधबारको मन्त्रिपरिषद्को बैठकले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको संघीय इकाईको कार्यालयका लागि प्रदेश सरकारले विनियोजन गरेको बजेट खर्चलाई पनि स्वीकृती प्रदान गर्ने निर्णय गरेको छ ।