संघीयतालाई कम खर्चिलो गर्ने कांग्रेसको प्रस्ताव अन्य राजनीतिक दलहरुले मानेनन् : मुख्यमन्त्री लामा
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले विकासको ठोस मोडेल तयार नगरी गरिएका लगानी फलदायी नहुने बताउनु भएको छ । जिल्ला समन्वय समिती मकवानपुरको १० औं जिल्ला सभालाई सम्बोधन गर्दै उहाँले दिगो विकासको लक्ष्य प्राप्तीका लागि पहिले विकासको मोडेल तयार गर्नुपर्ने बताउनु भएको हो । विकासको मोडेल तयार नगरी लगानी गर्दा प्रदेश सरकारको करोडौंका आयोजनाहरु अलपत्र अवस्थामा रहेको उहाँले बताउनुभयो । हेटौंडा–१० स्थित दुग्ध पाउडर प्लान्टको उदाहरण दिँदै मुख्यमन्त्री लामाले सञ्चालनको ठोस मोडेल नहुँदा अहिले समस्या सिर्जना भएको बताउनुभयो । करीब ४७ लाख रुपैयाँ लागतमा निर्मित प्रदेश सरकारको गौरवको आयोजनाको रुपमा रहेको दुग्ध पाउडर प्लान्ट पूर्ण रुपमा संचालनमा आउन सकेको छैन ।
नेपाली कांग्रेसका नेता समेत रहनु भएका मुख्यमन्त्री लामाले संघीयतालाई कम खर्चिलो गर्ने कांग्रेसको प्रस्ताव अन्य राजनीतिक दलहरुले नमानेको बताउनुभयो । प्रदेश र स्थानिय तहको संख्या निर्धारण गर्ने कुरामा राजनीतिक दलहरुको फरक फरक मत आएको स्मरण गर्दै उहाँले ५ ओटा मात्र प्रदेशको प्रस्ताव राख्दा कांग्रेसलाई संघीयता विरोधी पार्टीको आरोप लागेको बताउनुभयो ।
जिल्ला समन्वय समिती मकवानपुरका प्रमुख ललित बहादुर घलानको अध्यक्षतामा भएको कार्यक्रममा जिसस मकवानपुरका उपप्रमुख सानुकाजी लुईटेलले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो ।