हेटौंडा अस्पतालको स्वामित्वमाथि सर्वोच्च अदालतमा रिट
हेटौंडा। हेटौंडा अस्पतालको स्वामित्व विवादबारे सर्वोच्च अदालतमा रिट परेको छ। अधिवक्ता केशव प्रसाद गौतमले संघीय सरकारसहित १० निकायलाई प्रतिवादी बनाउँदै रिट दर्ता गरेका छन्। रिटमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार र प्रतिष्ठानका निर्देशकलाई प्रत्यर्थि बनाइएको छ।
रिटमा हेटौंडा अस्पतालको स्वामित्व संविधान र संघीय कानुन विपरीत रहेको दाबी गरिएको छ। २०७६ मा बागमती प्रदेशले बनाएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐनलाई संविधानसँग बाझिएको भन्दै बदर गर्न माग गरिएको छ। नेपालको संविधान २०७२ को धारा १३३ (२) (३) (४) अन्तर्गत उत्प्रेषणयुक्त, परमादेश माग गर्दै अधिवक्ता गौतमले संविधान तथा संघीय कानुनसँग बाझिएको प्रदेशको कानुन बदर गर्न माग गरेका हुन् ।
सर्वोच्च अदालतले रिट निवेदनको प्रारम्भिक सुनुवाइका लागि भदौ २६ मा पेसी तोकेको छ। रिटमा सरकारी सम्पत्ति कब्जा गर्नका लागि बनेका कानुन र नियमावलीलाई बदर गर्नका साथै प्रदेश सरकारले बनाएका ऐन, नियम, र आदेशलाई कार्यान्वयन नगर्न आदेश दिन पनि माग गरिएको छ।
गौतमले प्रधानमन्त्री, स्वास्थ्य मन्त्रालय, बागमती प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री, प्रदेश स्वास्थ्य मन्त्रालय, र अन्य सम्बन्धित निकायलाई विपक्षी बनाएका छन्।