नेकपा एमालेका प्रमुख सचेतक बर्तौला द्धारा पाँचथरको बम विष्फोटको घटनाबारे संसदलाई तत्काल जानकारी गराउन सरकारसँग माग

संवाददाता
२०८१ भाद्र २४, सोमबार १४:३१

काठमाडौं, २९ भदौ – प्रतिनिधि सभा बैठकमा सोमबार सत्तापक्षका प्रमुख सचेतक महेश बर्तौलाले पाँचथरको बम विष्फोटको घटनाबारे सरकारलाई तत्काल जानकारी गराउन माग गरेका छन्।

उहाँले सोमबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै १३ भदौको घटनामा एकै परिवारका दुई बालबालिकाको ज्यान गएको र दुई जना घाइते भएका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै गृहमन्त्री रमेश लेखकसँग यो विषयमा संसदलाई जानकारी गराउन अनुरोध गर्नुभएको हो।

“यो असाध्यै दुःखद घटना हो। डाँडाटोलमा बेवारिसे बम फेला प¥यो र त्यसको विष्फोटमा दुई जना बालबालिकाको मृत्यु भयो। यस घटनामा अन्य दुई जना बालक घाइते पनि भए। यस्तो गम्भीर घटनामा गृहमन्त्रीले संसदमा जानकारी दिनु उपयुक्त हुनेछ,” प्रमुख सचेतक बर्तौलाले भन्नुभयो।

बर्तौलाले सो घटनामा प्रयोग भएको बम तत्कालीन माओवादी सशस्त्र द्वन्द्वको समयमा बेवारिसे अवस्थामा छोडिएको कुरा समाचारमा आएको भन्दै, यस घटनाको जिम्मेवारी सम्बन्धित पक्षले लिनुपर्ने जिकिर गर्नुभयो। उहाँले यस्ता बेवारिसे बम विष्फोटको घटनामा सरकारले गम्भीरतासाथ अनुसन्धान गरेर दोषीलाई पहिचान गर्नुपर्ने बताउनुभयो।

उहाँले, “त्यति बेला सशस्त्र द्वन्द्वका क्रममा छोडिएका बम अहिले पनि विस्फोट भइरहेको छ भने, यसका लागि जिम्मेवार पक्षलाई चिन्हित गरेर अनुसन्धान गर्नुपर्छ। सामान्यतया राज्य पक्षबाट यस प्रकारका बेवारिसे बमहरु छोडिने कुरा सुनिँदैन। यदि विद्रोही पक्षले बेवारिसे बम छोडेका हुन् भने, सम्बन्धित पक्षले यसको जिम्मा लिनुपर्छ,” भन्नुभयो।

बर्तौलाले तत्कालीन विद्रोही पक्ष माओवादीले देशभर कुनकुन स्थानमा बेवारिसे बम राखेका छन् भन्ने विषयमा विशेष ध्यान दिनुपर्ने आवश्यकता पनि औंल्याउनुभयो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*