आज कृष्णजन्माष्टमी पर्व मनाईदैं
हेटौंडा । आज भाद्र कृष्ण अष्टमी अर्थात् भगवान कृष्णको जन्म भएको दिन । आज कृष्ण मन्दिरहरुमा सनातन धर्मावलम्बीले भगवान् कृष्णको जन्म भएको दिनको सम्झनामा पुजा आराधना गर्दै छन्। बिहान ८ बजेर २७ मिनेटपछि अष्टमी तिथि शुरु हुने पञ्चाङ्गमा उल्लेख छ। पञ्चाङ्गमा उल्लेख समय अनुसार भक्तालुहरुको कृष्ण मन्दिरहरुमा भिड भाड बढीरहेको छ ।
पुराणहरूमा उल्लेख भए अनुसार द्धापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरात रोहिणी गर्वबाट विष्णुले आठौँ अवतारका रूपमा कृष्ण जन्मिनु भएका हुन् ।
दानवहरुको अन्त्यका लागि भगवान बिष्णुले कृष्णको रूप लिनु भयको धार्मिक ग्रन्थहरुमा उल्लेख रहेको छ । लोकमा अधर्म कुसंस्कार र पाप बढ्दै जाँदा भगवानले विभिन्न रूप लिने गरेको मान्यता रहिआएको छ । भगवान कृष्ण कंसको कालकोठरीमा वासुदेव र देवकीको आठौं सन्तान अर्थात् पुत्रका भएर जन्म लिएका हुन् भन्ने ग्रन्थहरुमा उल्लेख छ।
कंस र उनका सहयोगी शकट, भञ्जन, तृणवर्त, वत्सासुर, बकासुर र पुतनालगायतको दमन गरी कृष्णले लोकमा शान्ति कायम राखेको पुराणमा उल्लेख छ।
मानिसले आफुले गरेको कर्म अनुसार उसलाई फल प्राप्त हुन्छ। गरिसकेको कामबारे आशक्ति राखेर चिन्तित नहुनु भन्ने भगवान् कृष्णले दिएको सन्देश गितामा छ । आजका दिन कृष्णका भजनकीर्तन गर्ने, आराधना गर्ने, जाग्राम बसी रातमा उनको जन्मसमयको प्रतीक्षा गर्ने र भोलिपल्ट उत्सव मनाउने परम्परा चलिआएको छ ।
परापुर्व काल देखि नै आजको दिन नेपाल र भारतमा रहेका श्रीकृष्णमन्दिरमा आजका दिन श्रदालुहरुको घुइँचो लाग्ने गरेको छ ।