चलचित्र ‘ सतीदेवी ’ र ‘ नमेटिने घाउ ’ देशभरिकै हलमा प्रदर्शनमा

संवाददाता
२०८१ भाद्र ९, आईतवार १६:३०

काठमाडौं । २ वटा नेपाली चलचित्र प्रदर्शन भएका छन् । चलचित्र ‘ सतीदेवी ’ र ‘ नमेटिने घाउ ’ देशभरिकै हलमा प्रदर्शन भएका हुन् । दुबै चलचित्रमा नव कलाकार सन्दीपबाबु लोहनीको अभिनय देख्न सकिन्छ ।

लक्ष्मण सुवेदीको निर्देशन रहेको चलचित्र ‘ सतीदेवी ’ ले लैंगिक समानताको कथा उठान गरेको छ । बाबु र छोरीबीचको स्नेही सम्बन्ध, आरोह – अवरोह र समाजको पितृसत्तात्मक सोच विरुद्ध संघर्ष गर्ने महिलाको कथावस्तुमा चलचित्र बनेको छ । यसमा मलिका महतले शीर्ष भूमिकामा अभिनय गरेकी छिन् । साथमा सृजना अधिकारी, हर्षिका ओली, मञ्जिला बानियाँ, सन्दीपबाबु लोहनी, रमेश बुढाथोकी, कुलबहादुर अधिकारी, भोला सापकोटा, सुजिता शिवाकोटी, तुलसी श्रेष्ठ, सृजना अधिकारी, बिमल श्रेष्ठ, देव महर्जन, इश्वरी सिंह, पवन के।सी।, जयन्त रेग्मी, इभने जोशी, इश्वरी सिंह, तुलसी श्रेष्ठ, जगदीश अधिकारी, सन्देश लिम्बु, मनिषा सापकोटा लगायतको अभिनय छ । दिलासा र साराको प्रस्तुति रहेको चलचित्र ‘ सतीदेवी ’ को निर्माताका श्रीदेवी, दिलासा र सारा सुवेदी हुन् । दिलासा क्रियसन र गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्माण भएको चलचित्र ‘ सतीदेवी ’ मा सुवेदीकै पटकथा र संवाद छ ।

पछिल्लो समय नारीप्रधान चलचित्रले बक्स अफिसमा दबदबा जमाइरहेको बेला चलचित्र ‘ सतीदेवी ’ आएको हो । चलचित्र ‘ सतीदेवी ’ को छायांकन लमजुङ, तनहुँ, कास्की र काठमाडौंका विभिन्न स्थानमा गरिएको छ । चलचित्रले दक्षिण एसियाली सौराहा फिल्म फेस्टिभल र सेलिब्रेटी नेपालले आयोजना गरेको ग्रामीण फिल्म फेस्टिभलमा अवार्ड जितेको छ । यसअघि ‘ एउटा साथी ’ र ‘ लालजोडी ’ निर्देशन गरेका सुवेदीको यो तेस्रो निर्देशकीय प्रोजेक्ट हो । लक्ष्मण सुवेदी फिल्म्सको ब्यानरमा यो चलचित्रमा बाबु श्रेष्ठको छायांकन, तारा थापा किम्भेको सम्पादन र सुदीप कुँवरको मुख्य सहायक निर्देशन रहेको छ । चलचित्रमा रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ । सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले पहिलो दिन चलचित्र ‘ सतीदेवी ’ लाई २५ शो दिएको छ । काठमाडौं उपत्यकाका आउटलेटमा १३ शो र बाहिर १२ शो दिएको हो । यस्तै, बिग मुभिजमा ‘ सतीदेवी ’ ले ३ शो पाएको छ, भने आइएनआईले ७ शो दिएको छ । त्यसैगरी, वान सिनेमाजले ‘ सतीदेवी ’ लाई ३ शो दिएको छ, भने एफक्युब, बिएसआरलगायतका मल्टिप्लेक्सबाट समेत शो प्राप्त गरेको छ । चलचित्र ‘ सतीदेवी ’ लाई काठमाडौंमा उपत्यकामा रिच इन्टरटेन्टमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गरेको छ, भने डिजिटल अधिकार ओएसआरले खरिद गरेको छ । चलचित्र ‘ सतीदेवी ’ को मिडिया पार्टनरमा जन अपडेट लगायत विभिन्न मिडिया रहेका छन् ।

यसैगरी, रमित ढुंगानाको निर्माण एवं निर्देशनमा बनेको ‘ नमेटिने घाउ ’ विभिन्न समय र स्थानमा भएका एसिड आक्रमणका घटनामा परेका पीडितहरूको कथामा बनेको चलचित्र हो । चलचित्र ‘ नमेटिने घाउ ’ लाई पहिलो भागको रुपमा लिन सकिने र यसपछि भाग २ र ३ को समेत तयारी भइरहेको निर्देशक ढुंगानाले बताए । चलचित्र ‘ नमेटिने घाउ ’ को शीर्ष भूमिकामा अधिकांश नयाँ कलाकार छन् । चलचित्रमा १ सय २५ जना कलाकारहरुको अभिनय रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, पूर्व शिक्षा मन्त्री तथा सांसद देवेन्द्र पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टी ९ राप्रपा ० का सांसद ज्ञानेन्द्र शाही, प्रहरी उपरीक्षक कुमोद ढुंगेलले यसमा अतिथि भूमिकामा अभिनय गरेका छन् । चलचित्र ‘ नमेटिने घाउ ’ मा एसिड आक्रमणमा परेकाहरूले नै अभिनय गरेका छन् । चलचित्र ‘ नमेटिने घाउ ’ मा तेजाव आक्रमणमा परेका देशभरका ३३ जना पीडितहरुको कथालाई समेटिएको छ । जसमा मुस्कान खातुन, रचना गौतम, प्राप्ति पौडेल, इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, प्रभात पल ठकुरी, आरती आचार्य, सुरवीर पण्डित, सुनिल कटुवाल, अपेक्षा न्यौपाने, क्रान्ति शाह, आरजु लेखक, लिजा कोरानी, रोजल थापा, एलिसा गुरुङलगायत ३३ जनाले अभिनय गरेका छन् । चलचित्र ‘ नमेटिने घाउ ’ मा शिवम् अधिकारीको लेखन तथा पटकथा, निरज कँडेलको छायांकन, बनिश साहको सम्पादन, ओम सुनारको संगीत र किरण ढकालको एक्शन रहेको छ । ३ करोड रुपैयाँको लागतमा निर्माण गरिएको यो चलचित्र ५८ दिनमा तयार पारिएको हो । क्युएफएक्सले चलचित्र ‘ नमेटिने घाउ ’ लाई २२ शो दिएको छ । काठमाडौंमा ८ र बाहिर १४ शो पाएको हो । त्यस्तै, बिग मुभिजमा ‘ नमेटिने घाउ ’ लाई २ शो दिइएको छ, भने आइएनआईमा ३ शो पाएको छ । वान सिनेमाजले चलचित्र ‘ नमेटिने घाउ ’ ३ शो दिएको छ, भने एफक्युब, बिएसआरलगायतका मल्टिप्लेक्सबाट शो प्राप्त गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*