व्यवसायीहरुले हेटौंडा उपमहानगरलाई आफ्ना व्यवसाय बन्द गरी साँचो बुझाए
अस्वभाविक कर वृद्धिको विरोधमा आन्दोलनरत हेटौंडाका व्यवसायीहरुले हेटौंडा उपमहानगरपालिकालाई आफ्ना व्यवसाय बन्द गरी साँचो बुझाएका छन् ।
मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ता अग्रवालले मेयर मिना कुमारी लामा र उपमेयर राजेश बानियाँलाई साँचो बुझाउनु भएको हो । मकवानपुर उद्योग वाणिज्य संघको अगुवाइमा जारी पहिलो चरणको आन्दोलन अन्तरगत शुक्रबार पाँचौ दिन व्यवसायीहरुले बिरोध स्वरुप उपमहानगरलाई आफ्ना व्यावसायीक सटरको साँचो बुझाएका हुन् ।
साँचो बुझाएपछि संचारकर्मीसंग प्रतिक्रिया दिँदै मउवा संघका अध्यक्ष अग्रवालले आफुहरुले बुझाएको ज्ञापन पत्रलाई वेवास्ता गरी च्यातेर फ्यालेको कारण आन्दोलन गर्न बाध्य भएको बताउनु भयो । उहाँले अब भने स्थानीय सरकारले आफुहरुको माग पुरा गर्नेमा विस्वस्त रहेको बताउनु भयो
यस्तै मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष उज्वल चौलागाईले बृद्धि गरेको राजस्व फिर्ता नलिए अनिश्चितकालिन आन्दोलनमा उत्रिने चेतावनी दिनुभयो । उहाँले आफुहरुलाई थप आन्दोलनमा जान बाध्य नपार्न समेत उपमहानगरको ध्यानाकर्षण गराउनुभयो ।
हेटौंडा उपमहानगरपालिकाले अस्वभाविक रुपमा कर वृद्धि गरेको भन्दै व्यवसायीहरुले वृद्धि भएको कर खारेज गर्नुपर्ने माग राखेर उपमहानगरमा धर्ना दिएका छन् । यसअघि बिहिबार मैनबत्ती बालेर व्यवसायीहरुले स्थानीय सरकार कहाँ छ भन्दै सरकारको खोजी गरेका थिए । हेटौंडा उपमहानगरपालिकाले व्यवसाय कर, घरभाडाको आधारदर, एकीकृत सम्पत्ति कर र विज्ञापन करमा १५० प्रतिशतसम्म वृद्धि गरेपछि व्यवसायीहरु आन्दोलित भएका हुन् ।