सरकारले किसानका समस्याप्रति गम्भीर चासो नदेखाएको कांग्रेसका प्रमुख सचेतक निश्कल राईको आरोप

संवाददाता
२०८३ असार ३, बुधबार १३:४५

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक निश्कल राईले सरकारले चिया उद्योग र किसानका समस्याप्रति गम्भीर चासो नदेखाएको आरोप लगाएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै राईले इलामसहित पूर्वी पहाडी जिल्लाका चिया उद्योग र किसानहरू गम्भीर संकटमा परेको भए पनि सरकारले आवश्यक पहल नगरेको बताए। सामाजिक सञ्जालमा प्रधानमन्त्री चिया पसलमा गएर चिया पिएको देखिए पनि चिया उद्योग र किसानको समस्या समाधानमा भने ध्यान नदिएको टिप्पणी गरे।

भारतीय चिया बोर्डले लागू गरेको नयाँ एसओपीका कारण नेपाली चिया निर्यात प्रभावित भएको बताए। गुणस्तर परीक्षणको प्रतिवेदन आउन दुई साताभन्दा बढी समय लाग्ने, प्रतिवेदन नआएसम्म चिया बिक्री गर्न नपाइने तथा सामान्य समस्या देखिए पनि उत्पादित चिया नष्ट गर्नुपर्ने व्यवस्थाले उद्योगीहरू समस्यामा परेको उनले बताए।

उद्योग बन्द हुँदा किसानले उत्पादन गरेको हरियो चिया खेर गएको, श्रमिकको रोजगारी गुमेको तथा उद्योगीहरू बैङ्कको ऋणको ब्याज तिर्न नसक्ने अवस्थामा पुगेको उनले बताए।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*