अस्पतालको मातृशिशु भवन निर्माणमा ढिलासुस्ती भएपछि मन्त्री डा. देवकोटा र थापाको छड्के

संवाददाता
२०८३ बैशाख ५, शनिबार १०:५०

चितवन । चितवनको रत्ननगर नगरपालिका–२ स्थित बकुलहर रत्ननगर प्रादेशिक अस्पतालको निर्माणाधीन मातृशिशु भवनको काममा ढिलासुस्ती भएपछि बागमती प्रदेशका मन्त्रीहरूले सक्रियता देखाएका छन् । भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटा र स्वास्थ्य मन्त्री किरण थापाले आइतबार अस्पतालको स्थलगत अनुगमन गरी कामको अवस्थाबारे जानकारी लिनुभएको हो ।
निर्धारित समयसीमा सकिएर पटक–पटक म्याद थप गर्दा पनि भवन निर्माण सम्पन्न नभएपछि मन्त्रीद्वयले निर्माण पक्ष तथा मन्त्रालयका प्राविधिकहरूसँग ढिलाइ हुनुको कारण सोधपुछ गर्नुभयो ।

अनुगमनका क्रममा भौतिक पूर्वाधार विकास मन्त्री डा. देवकोटाले बाँकी समयभित्रै भवन हस्तान्तरण गर्ने गरी निर्माण कम्पनीका मुख्य सञ्चालक (प्रोपाइटर) आफैँ उपस्थित भएर लिखित प्रतिबद्धता जनाउन निर्देशन दिनुभयो ।
‘अब कर्मचारीको भर परेर हुँदैन, मुख्य प्रोपाइटरले नै हामीसँग सिधै सम्पर्क गरी काम सक्ने ठोस प्रतिबद्धता दिनुपर्छ,’ मन्त्री देवकोटाले भन्नुभयो, ‘हामी काम तपाईंहरूबाटै सम्पन्न होस् भन्ने चाहन्छौँ, तर प्रगति देखिएन भने अब म्याद थपिने छैन । बरु जरिवाना गर्ने वा कानुनी प्रक्रियामार्फत अर्को विकल्प खोज्न बाध्य हुनेछौँ ।’

भवन अभावले सेवा प्रवाहमा सास्ती अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोपाल कर्माचार्यले भवन अभावकै कारण अस्पतालले धेरै समस्या झेल्नुपरेको बताउनुभयो । उहाँका अनुसार दैनिक करिब १५ सय देखि १९ सय सेवाग्राही आउने यस अस्पतालमा पूर्वाधार अभावले सेवा विस्तारमा अवरोध पुगेको छ ।हामीसँग डायलासिसका ५ वटा मेसिन छन्, तर ठाउँ नहुँदा ती थन्किएका छन् । सिटी स्क्यान मेसिन आउँदैछ, त्यसलाई राख्ने ठाउँ छैन,’ कर्माचार्यले गुनासो गर्नुभयो, ‘ओपिडीमा एउटै कोठामा दुई जना डाक्टर बस्नुपर्ने र दुई जना बिरामीलाई एउटै बेडमा राखेर उपचार गर्नुपर्ने बाध्यता छ । एउटा मात्र शल्यक्रिया कक्ष (अप्रेसन थिएटर) हुँदा चिकित्सकहरूले पालो पर्खिनुपर्छ ।’ नयाँ भवन हस्तान्तरण भएमा २०८३ असारभित्रै बिरामीलाई सहज सेवा दिन सकिने उहाँको भनाइ छ ।

७० प्रतिशत भौतिक प्रगति, चालु आर्थिक वर्षभित्रै सकिने
शहरी विकास तथा भवन कार्यालयका महाशाखा प्रमुख भूपेन्द्र यादवका अनुसार दुई कठ्ठा क्षेत्रफलमा निर्माणाधिन तीनले भवनको करिब ७० प्रतिशत भौतिक प्रगति भएको छ । भवनको मुख्य संरचना (सिभिल) को काम सम्पन्न भए पनि फिनिसिङ, एच.भी.ए.सी., स्यानिटरी र विद्युतीय जडानका कामहरू बाँकी छन् ।

निर्माण अवधि दुई पटकसम्म थप भइसकेकाले अब पुनः म्याद नथप्ने पक्षमा कार्यालय रहेको छ । महाशाखा प्रमुख यादवले भन्नुभयो, ‘२०७८ चैत २३ मा सम्झौता भई २०८० सालमै सम्पन्न हुनुपर्ने यो आयोजनाको म्याद दुई पटक थपिसकिएको छ । अब म्याद थप गर्ने सुविधा छैन, त्यसैले २०८३ जेठ २९ गतेसम्म काम सक्न निर्माण व्यवसायीलाई कडा दबाब दिनेछौँ ।’

यता निर्माण कम्पनी ‘आशिष योगेश्वर गृह जेभी’ का प्रतिनिधि विराट गोलले प्रशासनिक र प्राविधिक जटिलताका कारण ढिलाइ भएको दाबी गर्नुभयो । सम्झौता भएको लामो समयपछि मात्र कार्यसम्पादन आदेश पाउनु, साइट क्लियर गर्न ढिला हुनु र आयोजना स्थानीय तहबाट प्रदेश सरकारमा हस्तान्तरण हुँदा केही अलमल भएको उहाँको तर्क छ । ‘अन्तर्राष्ट्रिय बजारबाट आउनुपर्ने सामानहरू केही दिनमै आइपुग्छन्, हामी तोकिएको समयमै काम सक्छौँ,’ उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

२०२४ सालमा स्वास्थ्य चौकीका रूपमा स्थापना भएको यो अस्पताल २०७७ मा प्रदेश सरकार मातहत ५० शैयाको अस्पतालमा स्तरोन्नति भएको थियो । २०७३ फागुनदेखि विशेषज्ञ प्रसूति सेवा सुरु गरेको यस अस्पतालले २०७४ मंसिर २० गते पहिलो पटक शल्यक्रियामार्फत सफल सुत्केरी सेवा प्रदान गरेको थियो ।करिब १४ करोड ५८ लाख रुपैयाँको लागत अनुमान गरिएको यस मातृशिशु भवन निर्माणका लागि ९ करोड ५८ लाखमा ठेक्का सम्झौता भएको थियो । यो भवन सञ्चालनमा आएपछि भरतपुर अस्पतालमा हुने सुत्केरीको चाप कम हुने र स्थानीयले सहजै विशेषज्ञ सेवा पाउने अपेक्षा गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*