देशभर तापक्रम बढ्दै
काठमाडौं– देशको अधिकांश स्थानमा अधिकतम तापक्रम क्रमशः बढ्दै गएको छ । जल तथा मौसम विज्ञान विभागको तथ्यांकलाई हेर्दा स्थानमा सामान्य उतारचढाव मात्रै देखिएको छ ।
विभागले सार्वजनिक गरेको विवरणअनुसार तराई तथा मधेसका धेरैजसो सहरमा तापक्रम क्रमशः बढ्दै गएको छ । राजधानीमा फागुन २६ गते अधिकतम तापक्रम २०–२२ डिग्री सेल्सियस रहेकोमा शनिबार बढेर २४ डिग्री पुगेको थियो । आज मध्यान्हसम्म भने २५.४ डिग्री सेल्सियस पुगेको छ । आज रातिको न्यूनतम तापक्रम भने १५–१७ डिग्रीकै हाराहारीमा रहने अनुमान गरिएको छ ।
यसैगरी मध्यान्हसम्म सबैभन्दा बढी सिराहा र बाँकेको अधिकतम तापक्रम ३१ दशमलव १ डिग्री सेल्सियस पुगेको छ । सो समयमा मनाङ हुम्दे विमानस्थलको अधिकतम तापक्रम भने ३.२ डिग्री सेल्सियस रहेको छ ।
आज विराटनगरमा ३१–३३ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ । त्यस्तै नेपालगञ्जमा भने ३०–३२ डिग्री सेल्सियस आसपास रहने अनुमान गरिएको छ ।
गण्डकी प्रदेशको पोखरामा आज २६–२८ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ । हिमाली क्षेत्रतर्फ जुम्लामा २३–२५ डिग्री सेल्सियससम्म पुग्ने देखिएको छ भने जोमसोममा पनि १७–१९ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ ।
समग्रमा आगामी तीन दिनमा देशका अधिकांश सहरमा दिउँसोको तापक्रम क्रमशः बढ्ने तथा मौसम सामान्यतया सफा रहने सम्भावना रहेको विभागले जनाएको छ ।











