जेन्जी आन्दोलनका क्रममा फरार तीन कैदिबन्दी पक्राउ
हेटौंडा । जेन्जी आन्दोलनको क्रममा भिमफेदी कारागार तथा बालसुधार गृह हेटौंडाबाट फरार भएका तीन जना कैदिबन्दी पक्राउ परेका छन्।
भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा भिमफेदी कारागारबाट फरार रहेका ज्यान जोगाउने कसुर मुद्दाका प्रतिवादी बागमती गाउँपालिका–६ कैलेडाँडा निवासी अन्दाजी ३० वर्षीय मुन्ना स्याङ्तान तथा लागूऔषध ट्रामाडोल मुद्दाका प्रतिवादी हेटौंडा–७ हरियाली निवासी २२ वर्षीय विशाल गोले पक्राउ परेका हुन्।
यसैगरी, बालसुधार गृह हेटौंडाबाट फरार रहेका लागूऔषध ब्राउन सुगर मुद्दाका एक जना बालकलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले खोजतलास गर्ने क्रममा माघ १७ र १८ गते उनीहरूलाई फेला पारी नियन्त्रणमा लिएको हो। पक्राउ परेका दुई जनालाई भिमफेदी कारागार तथा बालकलाई बालसुधार गृह हेटौंडामा पुनः पठाइएको प्रहरीले जानकारी दिएको छ।











