विपिन अझै जीवित हुन सक्ने आशा रहेका दाजु किशोर दाबी
काठमाडौं । इजरायली सेना आईडीएफका एक अधिकारीले इजरायलमा हमासद्वारा नियन्त्रणमा लिइएका विपिन जोशी जीवित नरहेको औपचारिक जानकारी दिएका छन् ।
इजरायली सेनाका अधिकारीले इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित, अमेरिकामा रहेकी विपिनकी बहिनी, नेपालमा रहेका विपिनका दाजु किशोर र इजरायलको प्रधानमन्त्री कार्यालयका दुई अधिकारीहरुलाई भिडियो कन्फरेन्समा जोडेर विपिन जीवित नरहेको औपचारिक जानकारी दिएको राजदूत पण्डितले बताएका थिए ।
तर यता विपिनका परिवारले भने हमासको आक्रमणपछि इजरायलबाट बेपत्ता भएका विपिन जोशी जीवित नरहेको सूचना आए पनि अझै आशा मारेको छैन । हमासले बन्धकहरु छोड्न अझै पनि बाँकी रहेकाले अहिले नै आश मार्न नसकिने उनका दाजु किशोर जोशीले बताए ।
अमेरिकाको पहलमा इजरायल र हमासबिच युद्धविराम भएपछि आज हमासको नियन्त्रणमा रहेका जीवित र मृतक बन्दीहरु रिहा गर्ने कार्यक्रम छ । आज छाड्न लागिएका २० जनाको सूचीहरुमा विपिनको नाम छैन ।
इजरायलका मानिसहरू सोमबार बिहानैदेखि तेल अभिभको होस्टेज स्क्वायरमा जम्मा हुन थालेका थिए। यहाँ बन्धकहरूको प्रतीक्षा गरिरहेका मानिसहरूको ठूलो भीड जम्मा भएको छ । इजरायली सेनाले बन्धकहरूलाई रेड क्रसलाई सुम्पिएको र हमासले पनि आफूले सात इजरायली बन्धकहरूलाई रेड क्रसलाई सुम्पिएको पुष्टि गरेको छ।











