तीन दिनसम्म देशभर भारी वर्षा ,’ लामो दूरीका सवारी साधन बन्द

संवाददाता
२०८२ आश्विन १८, शनिबार १०:१२

काठमाडौँ । आगामी तीन दिनसम्म देशभर सम्भावित भारी वर्षाका कारण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दूरीका सवारी साधन बन्द गर्ने निर्णय गरेको छ।

जल तथा मौसम विज्ञान विभागले दिएको पूर्वानुमान अनुसार असोज १८, १९ र २० गतेसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको छ। बाढी, पहिरो र डुबान जस्ता प्राकृतिक विपद् जोखिम बढ्ने देखिएको हुँदा नागरिकको सुरक्षालाई प्राथमिकता दिँदै प्राधिकरणले यस्तो निर्णय लिएको हो।

प्राधिकरणका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट सञ्चालन हुने तथा काठमाडौँ उपत्यकाभित्रिने र बाहिरिने लामो दूरीका सार्वजनिक सवारी साधन असोज १८ देखि २० गतेसम्म पूर्ण रूपमा बन्द गरिनेछ।

यस निर्णयले विशेषतः दशैंअघि घर फर्किन तयारी गरेका यात्रुहरू प्रभावित हुने देखिन्छ। तर प्राधिकरणले आम नागरिक, यातायात व्यवसायी र सरोकारवालाहरूलाई अत्यावश्यक कामबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ।

साथै, सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू र सुरक्षा निकायहरूलाई सवारी साधनको गतिविधिमा निगरानी राख्न, अनुगमन गर्न र आवश्यक कारबाही गर्न निर्देशन दिइएको छ।

यसैबीच, मौसम पूर्वानुमान विभागले पनि नागरिकहरूलाई दैनिक अपडेट हेरी यात्रा योजना बनाउन, आवश्यक तयारी गर्न र स्थानीय प्रशासनको सूचनालाई प्राथमिकता दिन सुझाव दिएको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*