जेन–जी आन्दोलनबाट बागमती प्रदेशसभा भवनमा ३० देखि ३५ करोड बराबरको क्षति

अम्बिका बस्नेत
२०८२ आश्विन ३, शुक्रबार ०९:३९

हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा जेन–जी आन्दोलनबाट प्रदेश सभा भवन पुर्ण रुपमा क्षति ग्रस्त बनेको छ । प्रदेश सभाको हालै संचालनमा ल्याईएको अस्थायी भवन र पुरानो भवन दुबै जेनजीको निसानामा परेको थियो। प्रदेश सभा भवन क्षति ग्रस्त हुदाँ ३० देखि ३५ करोड बराबरको क्षति भएको आकलन गरिएको छ ।

हेटौंडामा रहेका अन्य सरकारी स्रंरचना, मन्त्रालय तथा कार्यालयमध्ये सबैभन्दा ठूलो क्षति प्रदेशसभा भवनमै भएको प्रदेश सभा सचिवालयले जनाएको छ । आगजनीबाट पाँच वटा भवन, ३ वटा चार पाग्रेगाडी, ६ वटा दुइ पाग्रे मोटरसाइकल र कार्यालयका सबैजसो सामानमा क्षति पुगेको बागमती प्रदेशसभा सचिवालयका प्रवक्ता मनोज कुमार गुप्ताले बताएका छन् । भवनका ढोका, झ्याल, बैठक कक्ष, अभिलेख कोठा लगायतका महत्वपूर्ण संरचना ध्वस्त भएको जनाइएको छ । क्षतिको पूर्ण विवरण आउन बाँकीनै रहेको छ ।

त्यस्तै, प्रदेशसभासँगै रहेका कांग्रेस संसदीय दलको कार्यालयमाबाहेक अन्य संसदीय दलका कार्यालयमा आगजनी र तोडफोड गरिएको छ ।

दलका अभिलेख, कागजात र उपकरणमा क्षति पुगेको प्रारम्भिक विवरण आएको छ । आन्दोलनकै क्रममा प्रदेशसभाभित्र र वरपर रहेका सवारीसाधनमा पनि आगजनी गरी क्षति पु¥याइएको छ ।

उनका अनुसार ठुलो संख्यामा आएका प्रदर्शनकारीले सुरुमा नाराबाजी गर्दै इँटा र ढुंगा प्रहार गरेका थिए । प्रदर्शन उग्र बन्दै गएपछि आन्दोलनकारी पर्खाल र गेट फोडेर प्रदेश सभा भवनभित्र प्रवेश गरी तोडफोड र आगजनी गरेका थिए । प्रदेश सभाको नयाँ र पुरानो दुवै भवनमा पूर्ण रूपमा क्षति पुगेको छ ।

१२ करोड २९ लाख लागतमा निर्माण गरिएको बागमती प्रदेश सभाको नयाँ भवन गत २७ साउनमा मात्र औपचारिक रूपमा उद्घाटन गरिएको थियो। निर्माण सुरु भएको २०७७ मंसिर १० गते शिलान्यासबाट सुरु भई करिब सात वर्षमा सम्पन्न भएको भवनमा जम्मा तीन वटा बैठकहरू मात्र सम्पन्न हुन पाएका थिए। तर, आन्दोलनको दोस्रो दिन प्रदर्शनकारीले भवनमा आगजनी गरेपछि, भवन पूर्ण रूपमा ध्वस्त भएको हो । भवन निर्माण गर्न झन्डै सात वर्ष लागेको थियो ।

जेनजी आन्दोलनको पहिलो माग प्रदेशको खारेजी रहेको थियो । भवनमा व्यापक क्षति पुगेपछि प्रदेश सभा बैठक सञ्चालन गर्ने स्थानको अभाव सिर्जना भएको छ ।

बागमती प्रदेश सरकारले नयाँ भवन निर्माणका लागि आवश्यक बजेट अभावका कारण तत्कालीन अवस्थामा सभा सञ्चालनका लागि विकल्पको खोजी गरेको छ। हालसम्म प्रदेशसभा भवनअन्तर्गत पार्किङका लागि प्रयोग हुँदै आएको जस्ताको टहरोलाई अस्थायी रूपमा बैठक स्थल बनाउने तयारी भइरहेको बागमती प्रदेशसभा सचिवालयका प्रवक्ता मनोज कुमार गुप्ताले बताएका छन्। उनका अनुसार क्षतिग्रस्त भवनको सूक्ष्म प्राविधिक अध्ययन भइरहेको छ र ईन्जिनियरको प्रतिवेदनको आधारमा मात्र मर्मत तथा पुनर्निर्माणको काम अघि बढाइनेछ । विनियोजित बजेट नभएकाले संरचनाको पुनर्निर्माणका लागि समय लाग्ने उनले स्पष्ट पारेका छन्।

यसैबीच, बागमती प्रदेशमा सभामुखको पद रिक्त रहेको छ । सभामुखले गत भदौ २४ गते जेनजी आन्दोलनकै क्रममा सामाजिक सञ्जाल फेसबुकमार्फत राजीनामा घोषणा गरेका थिए, जुन हाल लिखित रूपमा पनि प्रदेशसभामा पेश भइसकेको प्रवक्ता गुप्ताले बताएका छन्। सभामुखको राजीनामापछि अब उपसभामुखको अध्यक्षतामा प्रदेशसभा बैठक सञ्चालन गरिने तयारी भइरहेको छ ।

उनले दशैँअघि नै प्रदेशसभाको बैठक बोलाउने तयारी तीव्र गतिमा भइरहेको समेत जानकारी दिएका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*