कर्फ्यु तथा निषेधाज्ञा खुल्ला गरेपछि हेटौंडामा जनजीवन सामान्य बन्दै
हेटौंडा । अन्तरिम सरकार गठनसँगै देशभर झै हेटौंडामा पनि जनजीवन सामान्य बनेको छ । आन्दोलनपछिको तनावपछि नेपाली सेनाले सुरक्षा व्यवस्थाको नेतृत्व लिएको थियो । अन्तरिम सरकार गठन पश्चात् नेपाली सेनाले कर्फ्यु तथा निषेधाज्ञा खुल्ला गरे पछि देशभर झै हेटौंडामा पछिल्ला दिनमा देखिएको अस्थिर अवस्था क्रमशः सुधार हुँदै गएको छ ।
बिहान ६ बजेदेखि १० बजेसम्म अत्यावश्यक कामका लागि मात्रै नागरिकलाई बाहिर निस्कने अनुमति दिइएको थियो ,भने आजबाट पुर्ण रुपमा नेपाली सेनाले कर्फ्यु तथा निषेधाज्ञा खुल्ला गरको छ ।
आजबाट बजारमा केही चहलपहल देखिएको छ भने मानिसहरू आवश्यक सामग्री खरिद र अन्य कामका लागि बजारमा निस्किएका छन् ।
सुरक्षार्थ खटिएका नेपाली सेनाहरु अहिले सडकमा छैनन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल एवं ट्राफिक प्रहरीले सडकमा सुरक्षा दिइरहेको छ भने यातायात व्यवस्थापनको काम पनि गरिरहेको छ । आम मानिसहरु कार्यालय, आवश्यक कामका लागि सडकमा निस्किएका छन् । होटल, पसलहरु खुलेका छन् । अन्तरिम सरकारको प्रधानमन्त्रीमा शुक्रवार राति सुशीला कार्की नियुक्त भएसँगै अवस्था सामान्य बन्दै गएको छ । संसद विघटन गरी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गर्ने मिति घोषणा गरिएको छ । तर राजनीतिक दलहरुले भने संसद विघटनको विरोध गरिरहेका छन् ।











