मुख्यमन्त्री र प्रधानमन्त्रीमा प्रत्यक्ष निर्वाचिन हुनुपर्छ: एमाले नेता थपलिया
नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले देशको कार्यकारी पद अर्थात् मुख्यमन्त्री र प्रधानमन्त्री पदमा प्रत्यक्ष निर्वाचन प्रणाली लागू गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । उनले यो व्यवस्था संविधानमै सुनिश्चित गर्न आवश्यक रहेको धारणा राखेका छन् ।
न्युज एजेन्सी नेपालसँग हेटौंडास्थित प्रदेशसभा परिसरमा कुराकानी गर्दै थपलियाले प्रत्यक्ष निर्वाचन प्रणालीले सरकारलाई पाँच वर्षसम्म ढुक्कसँग काम गर्ने वातावरण दिन्छ र जनतासँगको अपनत्व पनि बढाउँछ भन्ने विश्वास व्यक्त गरे । “सरकार स्थिर रहन सक्यो भने विकास निर्माणका कुराहरू पनि निरन्तर रूपमा अघि बढ्न सक्छन्,” उनले भने । त्यसैले अब संविधानमै आवश्यक संशोधन गरेर यस्तो प्रणालीमा जानुपर्ने बेला आएको उनको भनाइ छ ।
थपलियाले अहिलेको राजनीतिक प्रणालीमा सरकार ढल्ने, समर्थन फिर्ता हुने र बारम्बार सत्ता परिवर्तन हुने क्रमले विकासको गति अवरुद्ध भएको उल्लेख गरे । प्रत्यक्ष निर्वाचन प्रणालीबाट जनप्रतिनिधि आउँदा जनताले आफैंले चुनेको नेतृत्वसँग प्रत्यक्ष रूपमा हिसाब-किताब माग्न सक्ने वातावरण बन्ने भन्दै उनले उक्त प्रणाली लोकतान्त्रिक अभ्याससँग पनि मेल खाने बताए ।
यस क्रममा उनले पार्टीभित्र देखिएको आन्तरिक बहसलाई स्वाभाविक प्रक्रिया भन्दै स्पष्ट पारे। “लोकतन्त्र भनेको आ-आफ्नो विचार राख्न पाउने स्वतन्त्रता हो । विचारको विविधता लोकतन्त्रको शक्ति हो । त्यसैले यस्ता बहसहरू हुनु अस्वाभाविक होइन,” उनले टिप्पणी गरे ।











