कार्की खोलाले बगाएको व्यक्तिको शव तीन दिनपछि फेला
हेटौंडा । मकवानपुरगढी गाउँपालिका–२, तल्लो छापका विनोद बम्जनको शव बगाएको तीन दिनपछि फेला परेको छ। २५ वर्षीय बम्जनलाई कार्की खोलाको आकस्मिक बाढीले बगाएको थियो।
भदौ ६ गते दिउँसो करिब ३;३० बजे तिर सुकौरा, तल्लो छापस्थित पसलबाट घर फर्किंदै गर्दा कार्की खोलामा होमपाइप प्रयोग गरी तर्ने क्रममा खोलाको बहाव एक्कासि बढेपछि उनी खोलामा बगेका थिए।
घटनापछि खोजी कार्यमा खटिएको प्रहरी टोलीले भदौ ८ गते दिउँसो १;४० बजे मनहरी गाउँपालिका–९, ज्यामिरेस्थित राप्ती खोलाको बगरमा विनोदको शव उत्तानो अवस्थामा फेला पारेको हो।
घटनास्थलमा इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक विशाल सापकोटाको कमान्डमा प्रहरी टोली खटिएको थियो। प्रारम्भिक कानुनी प्रक्रिया (मुचुल्का) पूरा गरेपछि शवलाई हेटौंडा अस्पतालको शवगृहमा राखिएको छ।
शव सनाखत मृतककी बहिनी सम्झना भोम्जनले गरेकी हुन्। उनले मृतकको बाँया कान सानो रहेको विशेषता देखाउँदै शव आफ्नै दाजु विनोद बम्जनको भएको पुष्टि गरेकी हुन्। घटनासम्बन्धी थप अनुसन्धान प्रहरीले जारी राखेको छ।











