पत्रकारमाथि आक्रमण गर्ने वकिलहरुलाई कारबाही गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय धनुषामा धर्ना
जनकपुरमा पत्रकारमाथि आक्रमण गर्ने वकिलहरूलाई पक्राउ गरी कानूनी कारबाहीको माग गर्दै पत्रकारहरु आन्दोलित भएका छन् ।
नेपाल पत्रकार महासंघ धनुषा शाखाको अगुवाइमा आईतवार धर्नामा बस्दै उनीहरुले पत्रकारमाथि आक्रमण गर्ने वकिलहरुलाई तत्काल पक्राउ गर्न माग गरेका छन् । गुठी संस्थानबाट महासंघले कानूनी प्रक्रिया पूरा गरी लिजमा लिएको ४ कठ्ठा जग्गा गत साउन २७ गते संरक्षण गर्ने क्रममा नेपाल बार एशोसिएशन जनकपुरका पदाधिकारीसहित वकिलहरूले पत्रकारमाथि आक्रमण गरेका थिए ।
वकिलहरुको आक्रमणबाट पत्रकार महासंघ प्रदेश अध्यक्षसहित उपाध्यक्ष ज्योती झा, महासचिव शैलेन्द्र महतो, पत्रकार दिवाकर राय र अनिल निराला घाइते भएका थिए ।
पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन साहले महासंघ प्रादेशिक भवन निर्माणका लागि गुठी संस्थानसँग सम्झौता गरी जग्गा लिजमा भएको भएपनि नेपाल बार एसोसिएशन जनकपुरमा आवद्ध वकिलहरुले सो जग्गा आफ्नो मातहत भएको दाबी गर्दै विवाद सिर्जना गरेको बताउनु भयो ।
उहाँले सोही विवादलाई लिएर वकिलहरुले पत्रकारमाथि सांघातिक आक्रमण गरे पनि प्रहरीले अहिलेसम्म कसैलाई पक्राउ नगरेको आरोप छ । प्रहरीले कारबाहीको लागि कुनै कदम नचाल्दा आफूहरु धर्नामा बस्न बाध्य भएको उहाँको भनाइ छ ।
महासंघ मधेस प्रदेश कमिटीका अध्यक्ष श्याम बञ्जाराले आक्रमणकारीविरुद्ध किटानी जाहेरी दर्ता गराएपनि स्थानीय प्रशासनले बेवास्ता गरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । उहाँले देशव्यपाी आन्दोलन नहोस् भन्ने उद्देश्यले अहिलेलाई शान्तीपूर्ण धर्नाको माध्यमबाट स्थानीय प्रशानलाई दबाब दिएको उल्लेख गर्दै पत्रकारमाथि आक्रमण गर्ने वकिलहरुमाथि कारबाही नगरिए आन्दोलनको शैली परिवर्तन गरेर देशव्यापी आन्दोलन गर्ने चेतावनी दिनुभयो ।
आन्दोलनरत पत्रकाहरुले आक्रमण गर्ने वकिलहरूलाई कारबाही गर, प्रेस स्वतन्त्रताको रक्षा गर, पत्रकारहरूलाई सुरक्षा देऊ लगायतका नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।











