कांग्रेसभित्रैको रस्साकस्सीले मुख्यमन्त्री बानियाँको विश्वासको मत अन्योलमा

लामा पक्षका १४ सांसद काठमाडौंमा छुट्टै बैठक बस्दै
संवाददाता
२०८२ श्रावण २८, मंगलवार १४:५३

हेटौंडा । बागमती प्रदेशमा सत्ता पक्षभित्रकै असहमति मुख्यमन्त्री इन्द्र बानियाँका लागि ठूलो चुनौती बनेको छ। आज दिउँसो ४ बजे मुख्यमन्त्री बानियाँले विश्वासको मत लिन प्रदेश सभा बैठक आह्वान गरेका छन् ।

बहादुरसिंह लामा पक्षका १४ सांसद अझै हेटौंडा आईपुगेका छैनन् । लामा पक्षका सांसदहरू काठमाडौंमा छुट्टै रणनीतिक बैठक बसिरहेका छन्।

उनीहरूले विश्वासको मत दिनुअघि आफ्ना माग सम्बोधन गर्न नेतृत्वसँग ठोस संवादमा जुटेका छन्। मुख्यतः, लामाले आफ्नो नेताको हैसियतमा नियुक्त गरेका गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरूङलाई नवगठित मन्त्रिपरिषद्मा समावेश गरिनुपर्ने माग गर्दै आएका छन् । तीनै जनालाई लामाले आन्तरिक मामिला तथा कानुन, युवा तथा खेलकुद, र सहकारी तथा गरिबी निवारण मन्त्रालयमा नियुक्त गरेका थिए, तर संसदीय दलको नेताबाट हटाइएपछि उनीहरूको पद बहाल हुन सकेको छैन।

नयाँ मुख्यमन्त्री इन्द्र बानियाँ नेतृत्वको सरकारले उनीहरूलाई फेरि मन्त्रालयमा समावेश गर्ने कि नगर्ने भन्ने विषयमा कांग्रेसभित्र विवाद चिलिएको छ।

लामा पक्षले सत्ता सञ्चालनमा समान सरोकार र निर्णयमा सहभागी हुनुपर्ने माग पनि अघि सारेको छ। कांग्रेसभित्रकै यो असन्तोषले एमालेसँग मिलेर सरकार बनाएका बानियाँको विश्वासको मतमा अन्योलता छाएको छ ।

यता, कांग्रेस र एमाले दुबै पार्टीले आफ्ना सांसदहरूलाई विश्वासको मत दिन ह्वीप जारी गरिसकेका छन्। तर यदि लामा पक्षले अनुपस्थित रहने वा तटस्थ बस्ने निर्णय लियो भने बानियाँको विश्वासको मत पार लगाउनु कठिन हुनेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*