बागमतीको मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँको दाबी पेस
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाको राजीनामापछि नयाँ सरकार गठनको प्रक्रिया तीव्र गतिमा अघि बढेको छ। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज सोमबार मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेसँगै नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्रीको दाबी पेश गरेका छन्।
प्रदेश प्रमुख कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाका अनुसार नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई भोलि मंगलबार दिउँसो २ बजेसम्म दाबी पेश गर्न भनिएको हो।
मुख्यमन्त्री लामाले स्वास्थ्य कारण देखाउँदै साउन १८ गतेदेखि लागू हुने गरी आज स्वकीय सचिवमार्फत राजीनामा बुझाएका थिए।
प्रदेश प्रमुखको आह्वान सार्वजनिक भएलगत्तै कांग्रेस नेता बानियाँले आधिकारिक रूपमा मुख्यमन्त्री पदको दाबी पेश गरेका छन्। बानियाँलाई नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका दलहरूको समर्थन रहेको जनाइएको छ।
बागमती प्रदेशमा नयाँ सरकार गठनको लागि प्रदेश प्रमुखले आवश्यक समिक्षा गरी बहुमतको दाबी पुष्टि भए बमोजिम नयाँ मुख्यमन्त्री नियुक्त गर्नेछन्।












