बागमती प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न प्रदेश प्रमुखको आह्वान
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढाएका छन्।
नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम मुख्यमन्त्री लामाले साउन १८ गतेबाट लागू हुने गरी राजीनामा दिएपछि सोही संविधानको धारा १६८ को उपधारा (२) अनुसार नयाँ मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गरिएको हो।
प्रदेश प्रमुख देवकोटाले बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यहरूले भोली ( मंगलबार ) दिउँसो २ बजेभित्र मुख्यमन्त्री पदको दाबी पेश गर्न आह्वान गरिएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाले जानकारी गराएका छन् ।












