मुख्यमन्त्रीको राजीनामा, देउवाको आग्रहअनुसार मार्ग प्रशस्त गरेको लामाको भनाई
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आफ्नो एक वर्षे कार्यकालको समिक्षा गर्दै आज पत्रकार सम्मेलनमार्फत राजीनामा दिने घोषणा गरेका छन्। पत्रकार सम्मेलनमा मुख्यमन्त्रीले प्रदेश सरकारको नेतृत्वमा रहँदा गरिएको कार्यको विवरण प्रस्तुत गर्दै बागमती प्रदेशको समृद्धिको यात्रामा आफूले खेलेको भूमिका र जिम्मेवारीबारे जानकारी गराएका छन् ।
लामाले मन्त्रिपरिषद् विस्तारको निर्णय अवरुद्ध गरिएकोप्रति असन्तोष जनाउँदै यस्ता प्रपञ्चहरूले इतिहासमा कस्तो प्रभाव पार्छ भन्ने विषयमा जनताले ध्यान दिनुपर्ने उल्लेख गरेका छन् ।
उनले प्रश्न गरे, दुई दलीय गठबन्धनमा बनेका अन्य प्रदेश सरकारहरू यथावत छन् भने बागमतीमा मात्रै किन परिवर्तन पाँच वर्षका लागि चयन भएको दलको नेता तुरुन्तै किन हटाउनु पर्यो ।
लामाले आफ्नो कार्यकालमा ३७४ दिन सेवा गर्ने अवसर पाएको स्मरण गर्दै विगतको सरकारले तयार पारेको बजेटको पूर्ण स्वामित्व ग्रहण गर्दै प्रभावकारी कार्यान्वयन गर्दा खर्च करिब ७ प्रतिशतले वृद्धि भएको र आन्तरिक आय ११ प्रतिशतले वृद्धि भएको तथ्यांकमा उल्लेख गरिएको बताएका छन् ।
प्रदेशमा प्रणालीको स्थापना, सुशासनको प्रवर्द्धन, विकास आयोजनाको कार्यान्वयनमा क्षमताको वृद्धिलगायतका विषयमा सरकार सफल भएको उल्लेख गर्दै उनले विपद् व्यवस्थापन, भाषा ऐनको कार्यान्वयन र कर्मचारी व्यवस्थापनमा समेत सुधार भएको दाबी गरेका छन् । ।
मुख्यमन्त्रीले आफ्नो पार्टीको निर्णय र सभापति शेरबहादुर देउवाको आग्रहअनुसार मार्ग प्रशस्त गर्न आफूले आजै प्रदेश प्रमुखको कार्यालयमा पुगेर राजीनामा दिने बताएका छन् । “संविधानले मलाई सुरक्षित राखे पनि राजनीतिमा विधि, पद्धति, मूल्य र मान्यता स्थापित गर्नु आजको आवश्यकता हो भन्ने ठानेर यो निर्णयमा पुगेको हुँ,” लामाले भने।
जनजाति बहुल प्रदेशमा जनजाति समुदायको प्रतिनिधित्व गर्दै मुख्यमन्त्री बन्ने अवसर पाउनु गौरवको विषय रहेको उल्लेख गर्दै उनले आफूले कुनै दबाबमा काम नगरेको, गलत काम हुन नदिएको र पूर्ण इमानदारीका साथ जिम्मेवारी निर्वाह गरेको दाबी गरेका छन्।
नेपाली काँग्रेस वागमती प्रदेश संसदीय दलको नेतामा भएको निर्वाचनमा पराजित भएपछि मुख्यमन्त्री लामामाथि राजीनामाको दबाब बढ्दैं गएको थियो । साउन १४ गते मंगलबार बसेको संसदीय दलको बैठकमा लामाविरुद्ध अविश्वास प्रस्तावमा मतदान हुँदा उनको पक्षमा १५ मात्र मत परेको थियो, भने २२ जना सांसद उनको विपक्षमा उभिएका थिए ।
उनले प्रदेश सरकार परिवर्तन गर्नुको वास्तविक कारण उजागर हुनेमा विश्वास व्यक्त गर्दै त्यसलाई पहिल्याउन आग्रह गरेका छन् । त्यसै गरि बागमती प्रदेशका प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाको स्वास्थ्यमा सुधार आएको छ । उनी भोलि हेटौंडा आउने भएका छन् , भोलिनै मुख्यमन्त्री लामाको राजिनामा पत्रलाई बुझिने प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।











