सिस्नेरी सडक खण्डमा ह्विल लोडर दुर्घटना, एक जना घाइते
हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ ज्यामिरेस्थित सिस्नेरी–काठमाडौं सडक खण्डमा सोमबार बिहान एक ह्विल लोडर दुर्घटनामा परेको छ।
खानीखेतबाट फास्ट ट्रयाकतर्फ जाँदै गरेको बा।प्र।०३–००४ क ४४६३ नम्बरको ह्विल लोडरको ब्रेक फेल भई सडकको वायाँ भित्तामा ठोक्किन गई करिब ८० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
उक्त दुर्घटनामा लोडरमा सवार दुई जनामध्ये एक जना हाम फालेर सकुशल जोगिएका छन्, भने चालक महोत्तरी टुटेश्वर नगरपालिका–५ बर्दिबास निवासी ३१ वर्षीय असोर कुमार महत निधार र पेटमा चोट लागी मध्यम घाइते भएका छन्।
दुर्घटनाको खबर प्राप्त हुनासाथ सिस्नेरी प्रहरी चौकीबाट प्रहरी निरीक्षक राम प्रसाद यादवको कमाण्डमा टोली खटिएको थियो। घाइते चालकलाई उद्दार गरी तत्काल काठमाडौंस्थित ट्रमा सेन्टर अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनाको थप अनुसन्धान भइरहेको छ।











