साउनभित्रै ड्राइभिङ लाइसेन्स छापेर वितरण गछौँ : मन्त्री महर्जन
हेटौंडा । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले साउन महिनाभित्रै ड्राइभिङ लाइसेन्स छापेर सवारी चालकहरूलाई वितरण सुरु गरिने बताउनु भएको छ ।
आइतबार बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालय परिसरमा न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै मन्त्री महर्जनले हालै सुरु गरिएको ई–ड्राइभिङ लाइसेन्स (ईडीएल) प्रणालीले सकारात्मक प्रभाव पार्न थालेको बताउनुभयो ।
मन्त्री महर्जनल भन्नुभयोे, “साउनभित्रै हामीले लाइसेन्स प्रिन्ट गरेर वितरण सुरु गर्छौं यसबाट सेवाग्राहीहरूलाई सिधै फाइदा पुग्नेछ ।“
गत वैशाख १९ गते प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा बागमती ईडीएल प्रणाली तथा अनलाइन बिलबुक सेवा ‘नागरिक एप’ मार्फत सार्वजनिक गरिएको थियो । उक्त सेवा सुरु भएको तीन महिना नपुग्दै थुप्रै सेवाग्राहीले यसबाट लाभ लिइरहेको मन्त्री महर्जनको भनाइ रहेको छ ।
उहाँले नागरिकहरूले आफ्नो सवारी साधनसम्बन्धी विवरण अनलाइनमार्फत भरेर यातायात कार्यालयमा भेरिफिकेसन गराउन सक्ने र त्यसपछि पटक–पटक कार्यालय धाउनु नपर्ने व्यवस्था गरिएको जानकारी दिनुभयो ।
“जनताले पटक–पटक यातायात कार्यालय जानुपर्ने बाध्यता हटाउने र बिचौलिया संस्कृतिको अन्त्य गर्ने हाम्रो मुख्य उद्देश्य हो,“ मन्त्री महर्जनले स्पष्ट पार्नुभयो ।
बागमती प्रदेशबाट सुरु भएको यो डिजिटल सेवा अब क्रमशः अन्य प्रदेशहरूमा पनि विस्तार हुने मन्त्री महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार, सातैवटा प्रदेशले आगामी वैशाखदेखि आ-आफ्नै प्रदेशबाट लाइसेन्स छाप्ने तयारी गरिरहेका छन्, जसको सुरुवात बागमती प्रदेशले गर्न लागेको हो ।











