गुरु पूर्णिमाको अवसरमा भुटनदेवी मन्दिरमा सरसफाई कार्यक्रम सम्पन्न
गुरु पूर्णिमाको अवसरमा नेपाल मानव धर्म सेवा समिति, हंश शान्ति आश्रम हेटौंडाको आयोजनामा हेटौंडा–४ स्थित ऐतिहासिक भुटनदेवी मन्दिर परिसरमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यक्रम महात्मा पिताम्बरा वाइजीको सभाध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा मानव धर्म सेवा समिति हंश शान्ति आश्रम मकवानपुरका अध्यक्ष अर्जुन लामा, संयोजक कृष्ण कँडेल, सह–संयोजक कल्पना कँडेल र रेनुका श्रेष्ठको सक्रिय भूमिकामा कार्यक्रम सम्पन्न गरिएको हो।
नेपाल मानव धर्म सेवा समितिका स्वयंसेवक दल, युवा संगठनका प्रतिनिधि तथा स्थानीय भक्तजनसहित करिब ४५ जना सहभागी यस कार्यक्रममा उपस्थित भएका थिए।
अध्यक्ष अर्जुन लामाले गुरु पूर्णिमाको अवसरमा मन्दिर परिसर सफा राख्न तथा धार्मिक स्थलहरूको संरक्षणमा सहयोग पुर्याउन कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो “यस कार्यक्रमले धार्मिक उत्सवलाई सामाजिक सेवासँग जोड्ने उदाहरण प्रस्तुत गरेको छ।”
कार्यक्रममार्फत सामाजिक उत्तरदायित्व र आध्यात्मिक भावनालाई सशक्त बनाउने प्रयास गरिएको बताउँदै आयोजकहरूले यस्ता सेवामूलक कार्यहरू निरन्तर जारी राख्ने योजना रहेको बताएका छन्। स्वयंसेवक अर्चना लामाले भविष्यमा अझ व्यापक रुपमा यस्ता कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।











