मकवानपुरको गौरीटारमा जुवा खेलिरहेका ५ जना पक्राउ
हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१६ स्थित गौरीटार रंगशाला नजिकैको एक गाईगोठमा जुवा खेलिरहेको अवस्थामा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले दिउँसो १:४५ बजे दामोदर चौलागाईको गाईगोठमा छापा मारेको थियो। सो क्रममा खाटमाथि खाल राखी नगद पैसाको हारजित हुने गरी जुवा खेलिरहेका पाँच जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
पक्राउ पर्नेहरूमा वर्ष ४५ का दामोदर चौलागाई, वर्ष २९ का बिश्व स्याङ्तान, सुदिप पोख्रेल, प्रदिप ओझा, र वर्ष ५२ का बहादुर थिङ रहेका छन्।
घटनास्थलबाट ७ बुक तास, नगद ८१ हजार ३ सय ९० रुपैयाँ र गोट्टीसहितको काठको लुडो समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका पाँचै जनालाई जुवा सम्बन्धी कसुरअन्तर्गत मुद्धा दर्ता गरी जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट ७ दिनको म्याद अनुमति लिइ थप अनुसन्धान र कानुनी कारबाही अगाडि बढाइएको छ।











