हेटौंडामा ज्यान मार्ने उद्योग मुद्दामा एक जना पक्राउ, थप अनुसन्धान जारी
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं.१० स्थित राप्तीरोडमा रहेको ‘दास इम्पोरियम’ कपडा पसलमा व्यापारीमाथि आक्रमण भएको घटनामा एक जना पक्राउ परेका छन्।
जेठ २९ गते उक्त पसलमा कपडा किन्न आएका केही व्यक्तिहरूबीच व्यापारीसँग विवाद भएको थियो। कपडाको मूल्य बढी भएको भन्दै अश्लील शब्द प्रयोग गर्दै विवाद बढेपछि समूहले पसल सञ्चालक ६१ वर्षीय बिन्दल दासको टाउकोमा काठको बेलनले प्रहार गरेका थिए। घटनामा गम्भीर घाइते भएका दासको उपचार भइरहेको छ।
घटनाको अनुसन्धानको क्रममा प्रहरीले मुख्य अभियुक्तका रूपमा पदमपोखरी, वडा नं. १२ निवासी ३५ वर्षीय विजय थिङलाई पक्राउ गरेको छ। उनीमाथि ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न अन्य व्यक्तिहरूको पनि पहिचान गरी खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ।











