विकास, लगानी र प्रविधिमा केन्द्रित बागमती प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक
हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि विकास, लगानी, प्रशासनिक सुधार र प्रविधिमा केन्द्रित नीति तथा कार्यक्रम प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले सार्वजनिक गरेको छन् । बुधबार प्रदेश प्रमुख देवकोटाले प्रदेशसभाको बैठकमा नीति तथा कार्यक्रमले प्रदेशको समग्र रूपान्तरणतर्फको योजनात्मक संकेत गरेको कार्यक्रम प्रस्तुत गरेका हुन् ।
सरकारको प्राथमिकता सूचीमा विशेषगरी भौतिक पूर्वाधारको पुनर्निर्माण, बहु-वर्षीय आयोजना व्यवस्थापन, र निजी क्षेत्रसँगको सहकार्यद्वारा रोजगारी सिर्जनामा केन्द्रित नीति समावेश गरिएको छ। नीति कार्यक्रममा प्रदेश गौरवका आयोजनालाई तोकिएको समयमै सम्पन्न गर्ने प्रतिबद्धता जनाइएको छ भने आयोजना छनोट प्रक्रिया पारदर्शी बनाउने बताइएको छ।
नयाँ कार्यक्रमले प्रशासनिक सुधारमा समेत बल दिएको छ। अनावश्यक संरचना खारेज गर्दै, प्रशासनिक प्रणालीलाई विद्युतीय माध्यममा रूपान्तरण गर्ने लक्ष्य लिइएको छ। निर्णय प्रक्रिया, अनुगमन र मूल्याङ्कन प्रणालीमा कृत्रिम बौद्धिकता (AI) र सूचना प्रविधिको प्रयोग बढाइने योजना रहेको छ।
लगानी अभिवृद्धिका लागि नीति कार्यक्रमले प्रदेशस्तरीय लगानी सम्मेलनको आयोजना, सार्वजनिक-निजी साझेदारी विस्तार, र निजी क्षेत्रलाई उत्पादन तथा रोजगारी सिर्जनामा नेतृत्वदायी भूमिका दिने व्यवस्था गर्ने उल्लेख गरेको छ।
यातायात क्षेत्र सुधार अन्तर्गत, प्रदेश यातायात गुरुयोजना अद्यावधिक गरिनेछ भने नयाँ सडक ट्रयाक खोल्नेतर्फ निरुत्साहित गरिने र स्तरोन्नतिको कार्य प्राथमिकतामा राखिने उल्लेख गरिएको छ। साथै, ‘राइड सेयरिङ’ सेवा कानुनी रूप दिँदै नियमन र राजस्व संकलनको दायरामा ल्याइने तयारी गरिएको छ।
डिजिटल ट्रान्सफर्मेसन कार्ययोजना, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता नीति, नमुना वडा समाजवादी कार्यक्रम, र स्थानीय तहमा नवप्रवर्तन प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिने सरकारको योजना छ। बागमती प्रदेश सरकारको यस वर्षको नीति तथा कार्यक्रमले समावेशी विकास, उत्तरदायी प्रशासन, र प्रविधि-मैत्री शासन प्रणालीतर्फको स्पष्ट मार्गचित्र प्रस्तुत गरेको छ।











