मकवानपुरको थाहा नगरपालिकामा बस दुर्घटना : दुई जनाको मृत्यु, चार घाइते

संवाददाता
२०८२ जेष्ठ १३, सोमबार २१:५९

मकवानपुर, थाहा – मकवानपुरको थाहा नगरपालिका–०३ स्थित त्रिभुवन राजपथ सडकखण्डमा आज साझ करिब ७:०० बजे भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्।

गोपाली गाउँबाट थानाबजारतर्फ जाँदै गरेको बा ३ ख ५९९० नम्बरको यात्रुवाहक बसको ब्रेक फेल भई सडकमा हिँडिरहेका पैदल यात्रुलाई ठक्कर दिएको थियो। अनियन्त्रित भई उक्त बस थाहा नगरपालिकाका उप–प्रमुख भरत गोपालीको घरभित्र छिरेको थियो।

दुर्घटनामा परी कृष्ण बलामी र लोकेन्द्र कुमार ठाकुरको प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा उपचारको क्रममा साझ ७:२५ बजे मृत्यु भएको पुष्टि भएको छ। दुवैजनाको स्थायी ठेगाना हालसम्म खुल्न सकेको छैन।

त्यस्तै, रघुनन्दन यादव र कमलेश कुमार साह गम्भीर घाइते भई थप उपचारका लागि काठमाडौँ ट्रमा सेन्टर पठाइएको छ।

अन्य घाइतेमध्ये बारा जितपुर सिमरा उपमहानगरपालिका–१७ का ३२ वर्षीय छेयाङ दोर्जे लामाको दाहिने हातमा चोट लागेको छ भने बारा कोल्बी नगरपालिका–०१ का ३० वर्षीय रामगुलाम चौधरीको शरीरका विभिन्न भागमा सामान्य आन्तरिक चोट लागेको छ। दुवैजनाको प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा उपचार भइरहेको छ।

बस चालक २९ वर्षीय राजेश कार्की, थाहा नगरपालिका–५ निवासी,लाई प्रहरीले नियन्त्रणमा लिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*