लोडसेडिङ नहुने ऊर्जा मन्त्री दीपक खड्काकाे दाबी 

“वास्तविकताको आधारमा हेर्दा अहिलेको अवस्थामा विद्युत् आपूर्तिमा कुनै पनि समस्या छैन,” मन्त्री खड्काले भन्नुभयो, “भ्रामक हल्लाले जनतालाई डराउनु आवश्यक छैन।”
संवाददाता
२०८२ जेष्ठ १३, सोमबार ०७:४६

काठमाडौं । पछिल्लो समय बजारमा लोडसेडिङ पुनः सुरु हुने हल्ला चलिरहेका बेला ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले स्थिति नियमन गर्न सक्रियता देखाएको छ। ऊर्जा मन्त्री दीपक खड्काले हालको विद्युत् आपूर्तिमा कुनै पनि प्रकारको अभाव नरहेको दाबी गर्दै लोडसेडिङ नहुने स्पष्ट पार्नुभएको छ।

कुलेश्वरस्थित कालीमाटी नो-लाइट शाखाको निरीक्षणका क्रममा मन्त्री खड्काले केही व्यक्तिहरूले नियोजित रूपमा जनमानसमा भ्रम फैलाउन खोजेको आरोप लगाउँदै यस्ता प्रचारप्रति सचेत रहन उपभोक्तालाई आग्रह गर्नुभयो।

“वास्तविकताको आधारमा हेर्दा अहिलेको अवस्थामा विद्युत् आपूर्तिमा कुनै पनि समस्या छैन,” मन्त्री खड्काले भन्नुभयो, “भ्रामक हल्लाले जनतालाई डराउनु आवश्यक छैन।”

मन्त्रालयले प्रणाली सुदृढीकरण, कर्मचारी जवाफदेहिता र आपूर्ति निरन्तरतामा जोड दिइरहेको बताउँदै उहाँले आपतकालीन अवस्थामा समेत तत्काल सेवा पुनःस्थापना गर्ने क्षमतामा नेपाल विद्युत् प्राधिकरण सक्षम रहेको उल्लेख गर्नुभयो।

यससँगै मन्त्री खड्काले स्युचाटारस्थित ‘लोड डिस्प्याच सेन्टर’मा पनि आकस्मिक निरीक्षण गर्दै देशभरको विद्युत् प्रवाह अवस्थाबारे प्रत्यक्ष जानकारी लिनुभयो।

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र ऊर्जा सचिव सुरेश आचार्य पनि निरीक्षणमा सहभागी थिए। निरीक्षण टोलीले प्राविधिक समस्याहरूको पहिचान र समाधान प्रक्रियालाई अझ प्रभावकारी बनाउने योजना अघि सारेको छ।

सरकारले लोडसेडिङ नहोस् भन्नका लागि गुनासो व्यवस्थापनदेखि प्रणाली स्तरोन्नति र कर्मचारी तालिमसम्मका पक्षमा नीति निर्माण गर्दै अघि बढिरहेको स्पष्ट संकेत मन्त्रीको सक्रिय निरीक्षणले दिएको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*