युवा संघको नेतृत्व छान्न अब मतदानमा जाने निश्चित

संवाददाता
२०८२ जेष्ठ १२, आईतवार ०७:००

पोखरा । सत्तारूढ दलको भ्रातृ संगठन युवा संघ नेपालको दशौं राष्ट्रिय महाधिवेशनले लोकतान्त्रिक प्रक्रिया अपनाउने संकेत दिँदै मतदानमार्फत नयाँ नेतृत्व चयन गर्ने तयारी गरेको छ।

नयाँ नेतृत्वका लागि अध्यक्ष क्षितिज थेबे र महासचिव सुमन पुरीबीच प्रतिस्पर्धा हुने पक्का भएको छ। सहमतिका लागि गरिएको लामो प्रयास असफल भएपछि अब प्रतिनिधिहरूको मतमार्फत निर्णय लिने बाटो तय गरिएको हो।

शनिबारको दिन मनोनयनको कार्यतालिका तय भए पनि नाराबाजी र सहमतिका प्रयासबीच प्रक्रिया स्थगित भएको थियो। आइतबार बिहान ७ बजेदेखि मात्र मनोनयन हुने स्पष्ट गरिएको छ।

सर्वसम्मत नेतृत्वका लागि क्षितिज थेबे नाममा दबाब सिर्जना गरिएको थियो, तर सुमन पुरीले पछि नहट्ने अडान लिँदा लोकतान्त्रिक प्रक्रिया अघि बढाउनुपर्ने अवस्था आएको हो।

अब उम्मेदवारहरूको पूर्ण प्यानलसहित प्रतिस्पर्धा हुने भएपछि मतदान प्रक्रियाका लागि ४५ वटा भोटिङ मेसिन पोखरा सभागृहमा ल्याइसकिएको छ। महाधिवेशनमा सहभागी १,७५० प्रतिनिधिहरूले भोट हाल्नेछन्।

संघका संस्थापक अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको यो महाधिवेशनले सहमति भन्दा लोकतन्त्रलाई प्राथमिकता दिएको भन्दै नेताहरूले यसलाई सकारात्मक अभ्यासको रूपमा लिएका छन्।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*