कुलेखानी–कलंकी–हुमाने सडक १९ दिन बन्द
हेटौंडा । इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी–कलंकी–हुमाने सडकखण्ड आज शुक्रबारदेखि बन्द गरिएको छ। आगामी जेठ २० गतेसम्म (१९ दिन) सो सडक पूर्ण रूपमा सवारीका लागि बन्द रहने जिल्ला प्रशासन कार्यालय, मकवानपुरले जनाएको छ।
सडक कालोपत्रे कार्य तीव्र रुपमा अघि बढाउने उद्देश्यले सडक बन्द गरिएको हाे । सडक बन्दसँगै यस क्षेत्रका थुप्रै साना व्यवसायहरू प्रभावित भएका छन्।
यात्रुहरूलाई विकल्पमा कान्ति लोकपथ र कुलेखानी–सिस्नेरी–फर्पिङ सडक प्रयोग गर्न अनुरोध गरिएको छ। यद्यपि ती बाटाहरू पनि सँकुरा र जोखिमयुक्त भएकाले सर्वसाधारणले यात्रा गर्नुपूर्व सावधानी अपनाउन सुझाव दिइएको छ।
प्रशासनले नागरिकहरूलाई असुविधा हुन नदिन काम तीव्र गतिमा सम्पन्न गर्ने आश्वासन दिएको छ।











