हेटौंडामा पहिलो पटक बागमती प्रदेश स्पोर्ट्स अवार्ड: प्रदेशस्तरीय खेलकर्मीको सम्मानमा नयाँ अध्याय सुरु

संवाददाता
२०८२ जेष्ठ २, बिहीबार १९:०६

हेटौंडा । बागमती प्रदेश सरकारले खेलकुद क्षेत्रको पहिचान र योगदानलाई उजागर गर्न पहिलोपटक ूबागमती प्रदेश स्पोर्ट्स अवार्डू आयोजना गर्ने भएको छ। प्रदेशका पूर्व र वर्तमान खेलाडी, प्रशिक्षक र पत्रकारलाई औपचारिक रूपमा सम्मान गर्ने यो अवार्ड कार्यक्रम आगामी जेठ ४ गते हेटौंडा–४ स्थित हुप्राचौरमा आयोजना हुँदैछ।

कार्यक्रमबारे मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो। आयोजकका अनुसार, कार्यक्रममा प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाको प्रमुख आतिथ्यता रहनेछ।

युवा तथा खेलकुद मन्त्रालयका निमित्त सचिव सूर्यबहादुर दाहालका अनुसार, अवार्ड आठ विधामा प्रदान गरिनेछ, जसमा वर्षका उत्कृष्ट महिला तथा पुरुष खेलाडी, उत्कृष्ट युवा, प्रशिक्षक, लाइफटाइम एचिभमेन्ट, बागमती खेलकुदको सान, लोकप्रिय खेलाडी र उत्कृष्ट पत्रकार समावेश छन्। कुल १२ जनालाई अवार्ड प्रदान गरिनेछ।

विशेष अवार्ड प्राप्तकर्तालाई जनही १ लाख रुपैयाँ पुरस्कार दिइनेछ भने अन्यलाई जनही ५० हजारसहित सम्मान गरिनेछ। साथै कार्यक्रममा सांस्कृतिक प्रस्तुति समेत रहनेछ।

कार्यक्रमको सहजीकरणका लागि मन्त्रालयले दीपक श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय प्राविधिक उपसमिति गठन गरिसकेको छ।

युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जनले भने, खेलाडीलाई प्रोत्साहन र नयाँ युवालाई खेलकुदतर्फ आकर्षित गराउने उद्देश्यले अवार्ड कार्यक्रमको सुरुवात गरेका छौं।

उनले प्रदेशभर हाल दैनिक २५–३० वटा खेलकुद प्रतियोगिता भइरहेको जानकारी दिँदै, अन्य प्रदेशले पनि यस्ता सम्मान कार्यक्रम सुरु गरोस् भन्ने अपेक्षा व्यक्त गरे।

मन्त्रालयका अनुसार, युथ समिट भने केही सातापछि आयोजना गरिनेछ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*