हेटौंडा–काठमाडौँ कान्ति लोकपथ सडक सुचारु, तर अस्थायी डाइभर्सनले अझै जोखिम कायम

संवाददाता
२०८२ बैशाख २१, आईतवार १३:२२

हेटौंडा । निरन्तरको वर्षासँगै आएको बाढीले अवरुद्ध भएको हेटौंडा–काठमाडौँ सडकखण्ड अन्तर्गतको कान्ति लोकपथ आज दिउँसोदेखि पुनः सञ्चालनमा आएको छ। बागमती नदीमा पानीको बहाव अत्यधिक बढेपछि मकवानपुर र ललितपुरको सिमानामा रहेको अस्थायी डाइभर्सन बगाएको थियो, जसका कारण आज बिहान ६ बजेदेखि सवारी आवागमन पूर्ण रूपमा रोकिएको थियो।

प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार, आवश्यक मर्मत र जोखिम मूल्याङ्कनपछि सडक दिउँसो १२स्४५ बजेबाट सञ्चालनमा ल्याइएको हो। यद्यपि, सडकको नियमित मर्मत कार्य जारी रहेकाले आगामी जेष्ठ १ गतेसम्म हरेक दिन बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सडक बन्द रहने जानकारी समेत प्रहरीले दिएको छ।

स्थायी पुलको अभावले बागमती नदीमा वर्षेनी निर्माण हुने अस्थायी डाइभर्सनमार्फत नै सवारी सञ्चालन हुँदै आएको छ। यसै कारण, मनसुन सुरु हुनासाथ बाढीले डाइभर्सन बगाउने र सडक बन्द हुने समस्या दोहोरिने गरेको छ। यस पटकको सडक अवरोधले विशेषगरी काठमाण्डौ जाने तराईका मालवाहक तथा यात्रुवाहक सवारी साधनलाई ठूलो असर पारेको थियो।

स्थायी पुल निर्माण प्रक्रिया वर्षौँदेखि थाती रहेको भन्दै स्थानीयवासीहरू असन्तुष्टि व्यक्त गर्दै आएका छन्। अस्थायी संरचनामा निर्भर रहँदा वर्षेनी जोखिम मोल्नु परिरहेको उनीहरूको गुनासो छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*