भारतबाट बिजुली आयातको समय एक घण्टा घट्याे, शुक्रबारदेखि १५ घण्टा मात्रै आयात हुने
काठमाडौ । भारतबाट बिजुली आयातको समय एक घण्टा घटेको छ । यसअघि १६ घण्टा आयात हुँदै आएकोमा शुक्रबारदेखि १५ घण्टा मात्रै आयात हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । शुक्रबारदेखि बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म (सोलार आवर) र राति २ बजेदेखि बिहान ६ बजेसम्म बिजुली आयात गर्न पाइने प्राधिकरणले जनाएको छ ।
भारतले ४ सय केभी ढल्केबर–मुजफ्फरपुर लाइनबाट ६ सय मेगावाट बिजुली दैनिक १५ घण्टा आयात गर्ने अनुमति दिएको हो । यसअघि टनकपुर–महेन्द्रनगर प्रसारण लाइनबाट ५४ मेगावाट बिजुली आयात गर्ने अनुमति दिइएको छ ।
प्राधिकरणले हिउँदमा बिजुली उत्पादन कम हुने भएकाले आन्तरिक माग धान्न भारतबाट आयात गर्दै आएको छ । गत मंसिरमा हिउँदमा बिजुली आयात गर्ने अनुमति दिँदा भारतले चैत २ सम्म दिनको २० घण्टा र चैत ३ देखि सौर आवर (बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म) मात्रै आयात गर्ने अनुमति दिएको थियो ।
गत चैत १५ पछि दैनिक १६ घण्टा बिजुली आयात हुँदै आएको थियो। बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म र राति ११ बजेदेखि बिहान ४ बजेसम्म बिजुली आयात गरिँदै आएको थियो ।
भारतको इन्डियन इनर्जी एक्सचेञ्ज लिमिटेड (आईईएक्स) को डे–अहेड र रियल टाइम बजारमा प्रतिस्पर्धामार्फत नेपालले बिजुली खरिद गर्दै आएको छ ।











