पूर्वपश्चिम राजमार्ग स्तरउन्नति आयोजनाकाे सार्वजनिक सुनवाईमा हेटौंडा बासीले गरे विरोध
हेटौंडा । पूर्वपश्चिम राजमार्ग स्तरउन्नति आयोजना अन्तर्गतको पतलैया हेटौडा नारायणघाट १०० किलोमिटर सडक खण्ड स्तर उन्नति आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन प्रतिवेदनको सार्वजनिक सुनाई कार्यक्रममा स्थानीयहरूले विरोध गरेका छन्।
समाजशास्त्री तथा पुनर्स्थापना विज्ञ रविन ढकालले आफ्नो प्रस्तुतिकरण गर्दै गर्दा स्थानीयहरूले विरोध जनाएका हुन्।सडक स्तरोन्नतिका क्रममा कुल ६८८ वटा निजी संरचना प्रत्यक्ष प्रभावित हुने देखिएको छ । हेटौडामा २८५ घरधुरी पर्ने तथ्याङ्क प्रस्तुत गरेपछि गलत तथ्याङ्क पेस गरेको भन्दै स्थानीयहरू आक्राेसित भएका हुन्।
स्थानीयहरूले गलत तथ्याङ्क पेस गरेको र आफूहरूलाई भ्रममा पारेर बस्ती हटाएर सडक विस्तार गर्न खोजेको भन्दै ढकालमाथि खनिएका थिए। आफूहरू विकास विरोधी नरहेको तर सरकारले उचित मुआब्जा नदिएको कारण आफूहरू यसको विरोध गर्न बाध्य भएको स्थानीयहरूको भनाइ छ।
लगातार विरोध भएपश्चात आयोजनाका डाइरेक्टर चन्द्रराज ढकालले जनताको भावना विपरीत विकास नहुने स्पष्ट पारेका थिए। हेटौंडा बजार क्षेत्र बाहेकका दुई सय ५ घर र अन्य पालिका एक सय ९८ वटा घर प्रभावित हुने प्रतिवेदनमा उल्लेख गरिएको थियोे । उक्त विवरण गलत भएकाे भन्दै हेटौंडा बासीले विराेध जनाएका हुन् ।
सार्वजनिक सुनवाईमा ४ लेनको सडक सुदृढीकरण साथै अन्य संरचना निर्माण गरिने जानकारी दिएका थिए । परियोजनाको कुल लागत करिब ६३ अर्ब ६८ करोड रहेको छ । त्यसै गरि बाइपास सडक निर्माणका लागि संघ सरकारसँग २०७३ सालबाटै लविङ्ग भइरहेको थियो । बाइपास सडक योजना अनुसार हेटौंडा बजार क्षेत्रको सडक १६/१६ मिटर कामय गर्न सकिने समेत भनिएको थियो । त्यसका लागि स्थानीयवासीले पनि बिना मुआब्जा सरकारलाई सडक विस्तारमा सघाउने भनेका थिए ।











