नेकोसद्वारा हेटौंडामा राष्ट्रिय महिला भलिबल र स्केटबोर्ड प्रतियोगिता आयोजना हुदैं

हेटौंडा । नेपाल स्पोर्ट सेन्टर (नेकोस)ले हेटौंडामा दुई वटा राष्ट्रिय खेलहरु आयोजना गर्ने भएको छ। असार ७ गतेदेखि ११ गतेसम्म नेकोस कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता र नेकोस कप राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता आयोजना हुन लागेको हो।
महिला भलिबल प्रतियोगिता असार ७ गते शनिवार दिउँसो ३ बजे हुप्राचौरस्थित भलिबल ट्रेनिङ्ग सेन्टरमा सुरु गरिनेछ। त्यसै गरि स्केटबोर्ड प्रतियोगिता असार ८ गते आइतवार विहान ७ बजेबाट हेटौंडा–५ स्थित पुष्पलाल रोडको स्केटिङ्ग पार्कमा खोलाईने भएको छ ।
महिला भलिबल प्रतियोगितामा देशभरबाट छ वटा टिमले सहभागिता जनाएका छन् । जसमा नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, न्यू डायमण्ड यूथ स्पोर्ट्स क्लब, मधेश प्रदेश ,गण्डकी प्रदेश र बागमती प्रदेशले सहभागिता जनाएका हुन् । यसैगरी स्केटबोर्ड प्रतियोगितामा १२ वर्षमुनिका महिला तथा पुरुष र १२ वर्ष माथिका महिला तथा पुरुष गरी चार विधामा १ सय ५० जना खेलाडीहरूको सहभागिता रहने छ। खेलको उध्घाटन प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना लामाले गर्ने भएको छ ।
महिला भलिबल प्रतियोगिताको प्रथम पुरस्कार राशि ५ लाख रहेको छ । त्यस्तै द्वितीय पुरस्कार ३ लाख, तृतीय पुरस्कार १ लाख र सान्त्वना हुनेलाई ५१ हजार पुरस्कार प्रदान गरिने भएको छ । त्यसै गरि प्रत्येक खेल विधामा नगद ५ हजार छुट्टाईएको छ । साथै स्केटबोर्ड प्रतियोगितामा प्रथम हुनेलाई १० हजार पुरस्कार राशि , द्वितीयलाई ५ हजार पुरस्कार र तृतीयलाई ३ हजार पुरस्कार प्रदान गरिने भएको छ । दुवै प्रतियोगिता सञ्चालनका लागि ८० लाख रुपैयाँ खर्च हुने नेकोसले जनाएको छ ।