जडीबुटी रोपेर औषधि बनाउँदै आँखाका ज्योति गुमाएका बजगाँई
मकवानपुरगढी गाउँपालिका – ६ बाग्दली निबासी केदार बजगाईंका आँखामा जन्मजातनै समस्या थियो। तर आफूले आँखाको ज्योतिनै गुमाउनुपर्छ भन्ने कहिल्यै सोचेका थिएनन् उनले । एक दिन यस्तो कहाली लाग्दो समय आयो । केदारको आँखाको ज्योति अन्ततः मन्द हुँदै गयो, र उनका आँखा बन्दनै भए।
बजगाईले रातदिन सोच्न थाले, “मेरो आँखाले संसार देख्न सक्दैन भने म के गर्न सक्छु?” यो सोचले उनको मनलाई चर्को पीडा दियो। उनी पराजित भइ सबै कुरामा असफल भएको महसुस गर्दै थिए। तर, केदारले हिम्मत भने हारेनन्। आफूले संसार देख्न नसकेपछि उनी आफू जस्तै साथीहरूको खोजीमा लागे र दृष्टिविहीनहरूको संस्थामा पुगे।
त्यहाँ पुगेपछि उनको मन केही सम्हालियो। दृष्टिविहीन साथीहरूसँग उनी राष्ट्रिय अपाङ्ग महासंघमा पुगे जहाँ थुप्रै अपाङ्ग साथीहरूलाई भेटे र सहानुभूति पनि पाए। आफ्नी श्रीमतीसँग राष्ट्रिय अपाङ्ग महासङ्घमा अपाङ्ग साथीहरू भेट्न पुगेका बजगाईंलाई त्यहाँका साथीहरूको अवस्था थाहा पाएपछि सम्हालिन झनै सजिलो भएको बताए । त्यसपश्चात बजगाईको मन बलियो भयो । उनी केही गर्नुपर्छ भन्ने सोचका साथ अगाडि बढ्ने सोचे।
विसं २०१८ सालमा ललितपुरको खरीडाँडामा जन्मिएका बजगाई , २०२८ सालमा १० वर्षको उमेरमा परिवारका साथमा मकवानपुरको बाग्दली आएका थिए। आँखाको ज्योति गुमाउनु अगावै उनी जडीबुटी खेती र जडीबुटीको औषधिहरु बनाउने काम गर्थे। हजुरबुबाहरु मदनबहादुर बजगाईं र गंगाबहादुर बजगाईंबाट जडीबुटीबारे बाल्यकालदेखिनै ज्ञान लिएका उनले जडीबुटीमै भविष्य देखे । जडीबुटीहरूको सङ्कलन गर्दै आफ्नो बाग्दलीमा रहेको जग्गामा रोप्न थाले अनि औषधिहरू बनाउन पनि ।
यसरी काम गरेको केही वर्ष बित्न नपाउँदै उनका कमजोर आँखाका ज्योति नै गए । आँखाका ज्योति गुमे पश्चात उनले जडीबुटी रोप्ने र औषधि बनाउने काम गर्न सकेनन् । आँखाको ज्योति गुमेपश्चात अतालिएका बजगाईंलाई उनको श्रीमतीले कहिले साथ छाडिनन् । श्रीमतीको साथ र अन्य दृष्टिविहीनहरूको समर्थनले उनलाई फेरि हौसला प्रदान गर्यो र उनी पुनः जडीबुटीको औषधिहरू बनाउनतिर लागे। उनले जडीबुटीको औषधि मात्र बनाएनन् अन्य दृष्टिविहीन साथीहरूलाई साथमा लिएर अचार उत्पादन तर्फ पनि लागे। हाल हेटौडा उपमहानगरपालिका कमाने -८ मा दृष्टिबिनहरूको संस्था स्थापनानै गरेर उनले अचार र मसलाहरू उत्पादन गर्दै बजारीकरण गरिराखेका छन्।
लामो समयदेखि जडीबुटी सम्बन्धी ज्ञान राख्दै आएका बजगाईंले ग्यास्टिक ,अल्सर ,पाइल्स ,सुगर ,दम, डायरिया लगायत घाँटी सम्बन्धी रोग ,पेटसम्बन्धी रोग ,पाठेघर सम्बन्धी रोग, प्रोस्टेट सम्बन्धी रोग आदिको लागि जडीबुटी औषधि तयार पार्छन्।
“जडीबुटी प्राकृतिको देन हो। कतिपय जडीबुटी हाम्रै वरिपरि नै पाइने भएपनि त्यसलाई हामीले पहिल्याउन सक्दैनौँ जडीबुटीको नकारात्मक असर भन्दा पनि सकारात्मक पक्ष धेरै छ। निरोगीले अन्य जडीबुटी खान मिल्छ। बकाइनो र निम भने धेरै खानाले शरीरमा नकारात्मक असर पर्छ।” उनले भने बजगाईंले सुनाए “यी जडीबुटीहरू केमिकल रहित हुन् कतिपय औषधिहरू पिनेर राख्दा बिग्रन सक्छन्। घरमानै सबै सामानहरु भएपछि औषधि आवश्यक पर्ने बेलामा मात्रै बनाउँछौं । ” हामी औषधि तयार पारेर राख्दैनौँ कसैले आवश्यक पर्यो भनेपछि मात्र बनाइदिन्छौं । प्राय प्रयोगमा आइरहने ग्यास्ट्रिकको औषधि भने हामीले अतिरिक्त बनाएर राख्ने गर्छौं ।” उनले थपे।
मकवानपुर नेत्रहिनसघंकाे अध्यक्ष समेत रहेका बजगाईले १०८ थरिका जडीबुटी सङ्कलन गर्दैछन्। जसबाट बन्ने औषधिले जुनसुकै रोगको लागि पनि काम गर्ने बताउँछन् । आँखा नदेख्ने बजगाईंले जडीबुटीहरू छामेर र सुँघेर पत्ता लगाउँछन्। जडीबुटीहरू पिस्नेदेखि लिएर प्याक गर्नेसम्म गर्छन् उनी ।
उनले औषधिकाे बट्टा पत्ता लगाउनकाेलागि ब्रेललिपिबाट लेखेकाे कागजलाई बट्टामा टास्ने गर्छन् । घरमा काेहि नभएकाे बेला औषधि किन्न ग्राहक आउने र आफूलाई चिन्न सजिलो होस् भनेर यसरी राखेको उनले बताए। ब्रेललिपि दृष्टिविहीनहरूले पढ्ने भाषा हो। उनले आँखाको ज्योति गुमाइसकेपछि बुढेसकालमै भएपनि ब्रेल लिपि सिकेको बताए।
तीन छोरा र तीन छोरी गरी ६ सन्तानका धनी बजगाईले कसैको सहारा लिँदैनन्। उनी एक्लै श्रीमतीका साथ हेटौडाको कमानेमा डेरा गरी बस्छन्। दृष्टिविहीन साथीहरूको सरसंगत मिल्ने र आफूले उत्पादन गरेको अचार तथा जडीबुटी बजारीकरण गर्न सजिलो हुने भएकाले डेरा गरि बसेको बताए । मकवानपुरमा रहेका सम्पूर्ण दृष्टिविहीनहरूको आँट ,साहस र हौसलाको प्रतीक बनिरहेका बजगाईले आफूसँगै अन्य २८ जना दृष्टिविहीनहरूलाई डोर्याइराखेका छन्।
केदार बजगाईंको संघर्ष र साहसले हामीलाई जीवनका कठिनतम परिस्थितिमा पनि आशा र दृढता नगुमाउने प्रेरणा दिन्छ। आँखाको ज्योति गुमाएपछि पनि उनले आत्मसमर्पण नगरेर जडीबुटी उत्पादन र अन्य दृष्टिविहीन साथीहरू सँगै उद्यमशीलता तर्फ अघि बढे। आफ्नो काम र संघर्षको माध्यमबाट उनले केवल आफ्नो जीवनमा मात्र सुधार ल्याएनन्, बरु अरूलाई पनि सशक्त बनाउने बाटो खोलिदिए।
उनको यात्रा अझै जारी छ र उनीसँगै हेटौडामा रहेका अन्य दृष्टिविहीन साथीहरू पनि आफ्नो भविष्यलाई नयाँ दिशा दिइरहेका छन्। केदारको साहस र संघर्षले प्रस्ट्याइदिएको छ कि ” मनमा दृढ इच्छाशक्ति हुने हो भने कुनै पनि अडचनलाई पार गर्दै जीवनमा सफलताको शिखर चुम्न सकिन्छ।”