बजेट कार्यान्वयनको विश्वसनीयतामा जोड, अर्थमन्त्री पौडेलको प्राथमिकता: स्रोत परिचालन र युवा उद्यमिता
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले बजेटको आकार वा महत्वाकांक्षी लक्ष्यभन्दा पनि यसको कार्यान्वयन क्षमतामा केन्द्रित हुनुपर्ने बताएका छन्। शनिबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) द्वारा आयोजित पोष्ट बजेट छलफल कार्यक्रममा बोल्दै उनले आर्थिक वृद्धिदर ६ प्रतिशत पुग्ने लक्ष्य यथार्थपरक रहेको स्पष्ट पारे।
पौडेलले बजेटको दिगोपनालाई प्रमुख प्राथमिकता दिइएको र स्रोतको व्यवस्थापन सुनिश्चित गरेर मात्रै बजेट प्रस्तुत गरिएको बताए। उनले भने, “स्रोतको चिन्ता भन्दा पनि कार्यान्वयनको इच्छाशक्तिमा भर पर्छ। बजेट बनाउने बेलामा हामीले यही कुरालाई मार्गदर्शन बनायौं।”
बजेट कार्यान्वयनका क्रममा साना योजनामा अनावश्यक खर्च कम गरी प्रभावकारी योजनामा प्राथमिकता दिइएको उनको दाबी छ। “खुद्रा योजनाको अनियन्त्रित बजेट बाढफाँट रोक्न सचेत प्रयास गरिएको छ,” पौडेलले भने।
अर्थमन्त्रीले निजी क्षेत्र र युवा उद्यमीलाई मुख्य साझेदारका रूपमा अघि सारिएको बताए। “सरकार एक्लै सबै गर्न सक्दैन, निजी क्षेत्रसँग सहकार्य आवश्यक छ। त्यसैले यो बजेटले निजी क्षेत्रलाई स्पष्ट सन्देश दिएको छ कि सरकार सहजीकरणका लागि तयार छ,” उनले भने।
डिजिटल बैंकिङ प्रणाली, पूर्वाधार विस्तार, ट्रान्समिसन लाइन तथा निर्माण क्षेत्रको समस्या समाधानजस्ता दीर्घकालीन सुधारका विषयमा पनि सरकार सक्रिय रहेको उनले बताए ।
पौडेलले सार्वजनिक ऋणको विषयमा अनावश्यक भय फैलाउनु उचित नभएको बताए। “हामी साँवा ब्याज तिर्न सक्ने हिसाबले मात्र ऋण लिन्छौं, त्यसैले ऋणको आकार होइन, क्षमता महत्वपूर्ण हुन्छ,” उनले प्रष्ट पारे।
साथै, बजेटले वातावरणीय संरक्षण र खनिज स्रोतको विवेकपूर्ण प्रयोगमा समेत ध्यान दिएको भन्दै उनले नीति र व्यवहारको समन्वय सुनिश्चित गरिने दाबी गरे।











