जब मृत्युको मुखबाट फर्केँ
हेटौंडा । आज २ जेठ २०८२ । ठ्याक्कै ८ महिना भयो मैले ‘बाइबाइ रक्सी’ भनेको। अनि ८ महिना नै पूरा भयो– मृत्युको मुखबाट फर्केर दोस्रो जीवन बाँचेको।
करिब नौ महिना अगि म काठमाडौ मेरो कार्यालयबाट फर्कदै थिए तिथिमिती गते बार त बिर्सिए तर त्यो अपराह्न म दोबाटोमा थिएँ– नजिकिंदै गरेको मृत्यु र सपनाजस्तै लाग्न थालेको जीवनको।
पहिलो बाटो निरन्तर गए मृत्यु सामुन्नेमै थियो। त्यसै दिन नि हुन सक्थ्यो। वा हप्ता, पन्ध्र, महिना र वर्षपछि। ‘क्रोनिक अल्कोहोलिक’ भइसकेका बहुसंख्यकको हुने मृत्यु नै हो।
मैले दोस्रो रोजें, जो मेरो वरपरका धेरैले अपेक्षै नगरेको सुधारको बाटो थियो।
तत्क्षणलाई त्यो कष्टकर भए पनि ‘वान डे एट अ टाइम’ अभ्यास गर्दै पाइला चाल्दा सजिलो भयो। यसैले आज ८ महिना यी हरफ लेख्दैछु।
यो न बहादुरीको कथा हो, न वीरगाथा। मलाई नजिकबाट चिन्नेले त्यसैबेला थाहा पाइसकेकै व्यथा हो। अनि, कलिलै उमेरमा ‘क्रोनिक अल्कोहोलिक’ बन्नुपर्ने रहर थियो कि बाध्यता, बानीले हुने कुरा थियो कि बाध्यताले निम्तिने विवशता–अझै म अनबीज्ञ छु
रक्सीले मेरो शरीर मात्रै होइन, आत्मा पनि अपहरण गरिसकेको कहालीलाग्दो समय थियो त्यो। मेरो संसार फुटेको ऐनाजस्तै चकनाचुर थियो जसमा हेरे प्रत्येक टुक्राले आफैंसँग तर्किरहेको र तर्सिरहेको एउटा अपरिचितझैं अनुहार देखाउँथ्यो।
घाँटीमा क्यामेरा झुण्डिएको हुन्थ्यो तर लेन्स कभर झिक्नै मुस्किल। फोटो क्लिक गर्थें तर सब्जेक्ट सधैं ‘आउट अफ फोकस।’ पहिले स्थिर रहने हातहरु थरथर काम्थे। ‘भ्यु फाइन्डर’ नै आँखाजस्तै तिरमिर तिरमिर देखिन्थ्यो। अनि, आफ्नै दिन धमिला हुँदा अरूका फोटा कसरी चहकिला निस्किउन्।
लाग्थ्यो, आफ्नै अस्तित्वको भग्नावशेषमा भौँतारिरहेको भूत थिएँ।
त्यस्ता दिनहरू थिए, रक्सी नपिउँदासम्म ठाडो उभिनै हम्मे पथ्र्यो। पिएपछि फेरि बस्नै मुस्किल। घुमिरहन्थें, डुलिरहन्थें र लुकिरहन्थें, आफैंले सिर्जना गरेका भयानक राक्षसहरुबाट भाग्दै।
दिन र रातहरु छुट्याउनै नसकिने बन्दै गएका थिए– ब्याक टु ब्याक ‘ब्ल्याक आउट’, एउटा अनन्त दुःस्वप्न। अस्पताल, धामीझाँक्री, ज्योतिषी, आफन्त, साथीभाइ, शुभेच्छुक सबैका प्रयास असफल। किनकी, त्यहाँ जानु र उनीहरुका कुरा सुन्नु मेरा रोजाइ थिएनन्।
मृत्यु र जीवनको दोबाटोमा पुगेपछि मैले दोस्रो रोज्ने कठोर निर्णय गरें, जुन अनिश्चित तर सम्भावनाले भरिएको थियो। उमेरले ३० पुगेकै थिइनँ, त्यसैले पनि बाँच्ने रहर जागेर आयो। अझ यसो भनौं, त्यहाँ तेस्रो बाटो नै थिएन। या त म सकिन्थें वा लडेर बाँच्न सिक्नु पर्थ्यो।
त्यसैले म लडें। संघर्ष गरें। सफल भएँ। कहिल्यै पछि फर्केर हेरिनँ र अब हेर्ने पनि छैन ।
पहिलो दिन बिना रक्सी बिताउँदा यस्तो लाग्थ्यो, म जलिरहेको घरभित्र उभिएको छु, जहाँ मेरो विगत खरानीमा परिणत हुँदैछ। मेरो शरीरले प्रतिरोध गर्यो। मस्तिष्कले विद्रोह गर्यो। त्यो केवल शारीरिक लतको अन्त्य थिएन, त्यो आफैंसँगको युद्ध थियो।
मलाई हररात सपनामा आउने राक्षसहरुबाट मुक्ति चाहिएको थियो। काला छायाँहरुबाट छुटकाराको खाँचो थियो। सर्प र बिच्छीहरुबाट विमुख हुनु थियो।
अनि, अँध्यारा भित्ताहरुबाट आफैंतिर लम्किरहेझैं लाग्ने रगत लतपतिएका हिंस्रक हातहरुबाट फुकिढल शरीरलाई सिरकभित्र कुकुलढुक पारेर लुकाउन कम्ती सास्ती पर्दैनथ्यो। पसिनाले निथ्रुक्क शरीरलाई त्यो ऐँठन भन्ने थाहा थिएन, रक्सीको सजाय थियो।आज पुन: जन्म लिएको महसुस गर्छु– शारीरिक तन्दुरुस्तीले, कञ्चन विचारले र अनेक थोक गर्ने हुटहुटीले। लाग्छ, थुप्रै कुरामा समकालीनभन्दा म ऊर्जा र हौसलाले भरिपूर्ण भइरहेको छु।
मेरो शरीर पुननिर्माण भयो। सबैभन्दा महत्वपूर्ण कुरा– मैले मेरो आत्मा फिर्ता पाएँ। अब मेरो संसार ‘सफरिङ् पिरियड’ मा बडो संघर्ष गरेर खिच्दा पनि सफल नभइने धमिलो फोटोजस्तो छैन। यो जीवन्त छ, उज्यालो छ, रङ्गहरुले भरिएको छ, जुन मैले केही वर्ष भुलिसकेको थिएँ।
लेख्नु र पढ्नु मेरो रुचि थियो। समाचार लेख्नु र फोटो खिच्नु पेशा। जानेको र गरेको त्यो एक मात्र काम। त्यही काम छोडेर फुलटाइम पियक्कड हुँदा पिउनेलाई जति पीडा थियो, देख्ने सबैलाई सायद त्यस्तो थिएन।
ती तमामलाई पहिल्यै माफ दिइसकेको र माफ मागिसकेको छु– जसले मेरो र जसको मैले मन दुखाएका थियौं।
एल्कोहोलिक्स एनोनिमस भन्छ, ‘वान डे एट अ टाइम।’ अर्थात्– आजको दिन, एकपटक। त्यो भनेको जे कुराको लत छ त्योबाट आज चाहिँ टाढै रहने। अनि, भोलि पनि उही सिद्धान्त लागू गर्ने। मैले सुरुमा यही सूत्र अपनाएँ। एक सास। एक पाइला। एक दिन। एक हप्ता। एक महिना। , आज ८ महिना ।।
मैले चिनेका, मेरो जस्तै अवस्था झेलेका धेरै त मेरो आँखा अगाडि नै सन्सार बाट बिदा भै सके । रहेका कुलतको अँध्यारोमै छन्। चिनेजानेका कोही पनि स्मरणमा छैनन् वा मलाई थाहा नभएको हुनसक्छ, जसले ‘क्रोनिक अल्कोहोलिक’ चरण पार गरेर लामो समय बिताएको छ ।
सबै कुरा आफूमा भरपर्ने रहेछ। आफूले चाहे जे पनि सम्भव छ। कसैलाई कुलतबाट निस्किनु छ भने अझै समय छ। आफूले हिंडिरहेको कुलतको बाटो गलत हो भन्ने स्वीकार गर्नु पहिलो सर्त हो। स्वीकार गरेपछि मात्रै सुधारको बाटो हिंड्न सकिन्छ।
जीवन रोज, संघर्ष गर। एक दिन तिमी ब्युँझनेछौ र देख्नेछौ– त्यो ‘ब्ल्याक आउट’ सकिएको छ। त्यो दुःस्वप्न अन्त्य भएको छ।
अन्त्यमा : भएका गलत कुराहरुको सबै माझ माफी चाहन्छु घर परिवारका साथ साथ दिनु हुने सवैलाइ धन्यवाद बाहेक केही भन्न सकिन










